हे नेपाल सरकार, तपाईंलाई नयाँ वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना!
नयाँ वर्षको संघारमा हामी आशा र उत्साहका साथ उभिएका छौं। तर, यतिखेर देशको बौद्धिक वर्ग – शिक्षकहरू – सडकमा शैक्षिक अधिकारका लागि आवाज उठाइरहेका छन्। बेमौसमी झरीमा भिज्दै, घामको रापमा सुक्दै, सडकमा बसेका ती शिक्षकमाथि सरकारको बेवास्ता दुखद् र चिन्ताजनक छ।
बसन्त ऋतुले जस्तै नयाँ वर्षले पनि देशमा नयाँ उमङ्ग, जोश र आशा ल्याउनुपर्थ्यो। तर दुर्भाग्यवश, शिक्षामा सरकारको गैरजिम्मेवारीले हजारौं शिक्षकमात्र होइन, सम्पूर्ण देशलाई पीडा दिएको छ।
प्रजातान्त्रिक मुलुकमा शिक्षकलाई सडकमा घुँडा टेक्न बाध्य पार्ने शासनप्रणाली कस्तो लोकतन्त्र हो सरकार? सरकारी र निजी विद्यालयबीचको भेद, पाठ्यक्रमको अन्योल, र शिक्षा क्षेत्रमा रहेको राजनीतिक हस्तक्षेप कहिलेसम्म जारी रहन्छ?
शिक्षकहरू सडकमा छन्, तर उनीहरूको शिक्षणप्रतिको प्रतिबद्धता भने यथावत् छ। सञ्चारमाध्यममा देखिएका तस्बिरहरूले यो स्पष्ट पार्छ। तर सरकारले ती शिक्षकहरूको जायज माग सम्बोधन गर्न हिच्किचाउनु लाजमर्दो कुरा हो।
२०८१ असोज ५ र १२ गते सरकार र शिक्षकबीच भएको २४ बुँदे सहमति कता गयो? सम्झौतामा हस्ताक्षर गरेर पनि कार्यान्वयन नगर्नु आफैँमा विश्वासघात होइन र?
म कुनै दलको एजेन्डा लिएर बोलिरहेकी होइन। म एक शिक्षिका हुँ – ती बालबालिका जसले नयाँ वर्षमा विद्यालय भर्ना भएर उज्ज्वल भविष्यको सपना देखिरहेका छन्, उनीहरूको पक्षमा बोलिरहेकी हुँ।
शिक्षकले सडकमा बिताएको समय, खर्चिएको ऊर्जा, देशको सीमामा लगाएर परिचालन गरिएको भए, सायद आज जङ्गे पिलरको संख्याभन्दा शिक्षा पिलर बलियो हुन्थ्यो।
शिक्षामा सरकारको यस्तो बेवास्ता र गैरजिम्मेवारी व्यवहारले भविष्यमा कुन इतिहास लेखिन्छ, त्यो हेर्न बाँकी छ।
शायद केहीलाई मेरो यो भावना नमिठो लाग्न सक्छ। तर सत्य भनेको सधैं मिठो हुँदैन।
नयाँ वर्षको स्वागतमा जब देशभर दीप प्रज्वलन भइरहेको छ, तब बौद्धिक वर्ग भने सडकमा बिचल्ली छन्। यही वेदनाले मलाई शब्दमार्फत सरकारलाई सम्बोधन गर्न बाध्य बनायो।
देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, शिक्षक, विद्यार्थी, अभिभावक, व्यापारी र बौद्धिक वर्ग सबैलाई नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!
नयाँ वर्ष २०८२ देशको लागि ऐतिहासिक बनोस्। शिक्षामा न्याय, समाजमा समानता र राष्ट्रमा समृद्धि ल्याओस् – यही शुभकामना!
लेखक साहित्यकार एवंम शिक्षिका हुनुहुन्छ।