काठमाडौं। जतिसुकै जटिल र कठिन परिस्थिति होस्, सुवास नेम्वाङ आशावादी देखिन्थे, अनि ओठमा मुस्कान छाइरहन्थ्यो । विपक्षीमाथि खनिँदासमेत उनको ओठमा मुस्कान र मन्तव्यमा तर्क हुन्थ्यो । बरु व्यंग्य गर्थे तर तल्लो स्तरमा झरेर कहिल्यै बोलेनन् । संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको गए राति निधन भएपछि नेपाली राजनीतिमा एकखालको सन्नाटा छाएको छ । शीर्ष नेतृत्व स्तब्ध छ ।
नेम्वाङ लोकप्रिय जनप्रतिनिधि थिए । २०५६ पछिका प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनमा उनले कहिल्यै पराजय व्यहोर्नुपरेन । गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा बाहेक उनले राजनीतिक करिअरमा कहिल्यै हार्नुपरेन । तर, हृदयाघातका कारण जीवनबाट उनी हारे । उनी सोमबारदेखि बिरामी थिए । उनलाई हल्का ज्वरो आएको थियो । चिकित्सकले घरमै गएर जाँचेका पनि थिए । तर, मध्यरात उनी हृदयाघात भइ बाथरुममै ढले ।
परिवारले भेट्दा उनी बेहोस थिए । तत्कालै महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिए पनि पहिल्यै उनको निधन भइसकेको थियो । आफ्नै पार्टी एमालेमा होस् वा संसद् अथवा राष्ट्रिय राजनीतिमा नेम्वाङ समन्वयकारी नेताका रूपमा चिनिन्थे । एमालेभित्रको अन्तरसंघर्षमा अध्यक्ष केपी ओलीनिकट रहे पनि अरु नेताहरूलाई मिलाएर पार्टीलाई एकढिक्का राख्न उनले प्रयत्न गरेका थिए । उनको सबैभन्दा ठूलो योगदान नयाँ संविधान निर्माणमा थियाे । दोस्रो जनआन्दोलनको बलमा २०६३ मा प्रतिनिधिसभा पुनःस्थापित भएपछि उनी सभामुख बने ।
त्यसपछि उनको समन्वयकारी भूमिका झन् बढेर गयो । खासगरी, पहिलो र दोस्रो संविधानसभामा नेम्वाङले खेलेको भूमिकाको अहिले पनि प्रशंसा हुने गरेको छ । भलै, पहिलो संविधानसभा विघटन हुनुमा नेम्वाङलाई दोष लगाउने गरिएको छ । उनी आफैँ भने १० प्रदेशमा भइसकेको सहमतिबाट माओवादी र मधेशवादी पार्टी पछि फर्किँदा संविधान बन्न नसकेको बताउँथे । व्यंग्य पनि गर्थे, भुँइको टिप्न खोज्दा खल्तीको पनि खसेको हो । सशस्त्र विद्रोहबाट आएको माओवादी, मधेश आन्दोलनबाट उदाएका मधेशवादी र लामो संसदीय अभ्यासबाट आएका कांग्रेस र एमालेलाई मिलाएर नयाँ संविधान बनाउनु सहज थिएन । तर, उनले सधैँ सहमतिको रट लगाइरहे ।
मधेसकेन्द्रित दलबाहेक सबैको मतबाट ३ असोज २०७० मा संविधानसभाले नयाँ संविधान घोषणा गर्याे । दक्षिणी छिमेकी भारतको अनिच्छाबीच नयाँ संविधान घोषणा गर्नुपर्ने चुनौतीको नेम्वाङले सामना गरेका थिए ।
को हुन् नेम्वाङ ?
२८ फागुन २००९ मा इलाममा जन्मिएका नेम्वाङ २०२८ बाट राजनीतिमा सक्रिय थिए । स्नातक अध्ययनका क्रममा अनेरास्ववियुबाट राजनीति थालेका उनी इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापतिसमेत बने । पञ्चायतविरोधी आन्दोलनमा उनी सक्रिय थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा पनि तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले) मा संगठित भए ।
एमालेको कानुन व्यवसायी फाँटबाट राजनीतिलाई अघि बढाएका उनी एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै १० औँ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष निर्वाचित भए । पार्टीमा भन्दा संसदीय फाँटमा उनी धेरै सक्रिय भए । २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य रहेका नेम्वाङ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट निर्वाचित भए ।
२०६४ र २०७९ का चुनाव एमालेका लागि चुनौतीपूर्ण थिए । यी दुवै निर्वाचनमा पनि नेम्वाङ विजयी भएका थिए । हाल उनी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।