अनिल खत्री, गुल्मी । गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सडकमै सवारी साधनको जाँच र चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ । ‘आफू बाँचौ र अरुलाई पनि वचाऔं’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, गुल्मी यातायात प्रालिको संयुक्त आयोजनामा बस, ट्रक, जीप लगायतका बिभिन्न सवारी साधनहरुमा दक्ष प्राविधिकद्धारा सवारी चेकजाँच तथा चालकहरुको आँखा तथा स्वास्थ्य परिक्षण गरिएको हो ।
जिल्ला आँखा उपचार केन्द्र, गुल्मी मोडल हस्पिटल, प्राबिधिक सहयोगमा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ४ को तम्घास–सिमलटारी सडक खण्डको अर्खलेमा सडकमै पुगेर चोक जाँच तथा स्वास्थ्य परिक्षण गरिएको थियो । ८५ वटा साना–ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवंम स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।
परीक्षणवाट ६ जना चालकहरुमा उक्त रक्तचापको समस्या तथा ५ जना चालकहरुमा आँखामा समस्या देखिएको थियो । सवारीहरुमा समेत समय–समयमा मर्मत सम्भार, समिसिङ्ग, टाइराइड, टायर लगायतको समस्या देखिएकोमा उक्त समस्या तत्काल सुधार गर्न र समय समयमा आँखा, स्वास्थ्य एवंम सवारी परीक्षण गरी सवारी साधन चलाउनको लागि चालकहरुलाई आग्रह गरिएको आचार्यले बताए ।
दुर्घटनाको एउटा पक्ष चालकको स्वास्थ्य र सवारी साधानको अवस्था पनि हुने भएकाले सडकमै सवारी साधानहरुको चेकजाँच र चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको गुल्मी यातायात प्रालिका सञ्चालक हिमाल कुँवरले बताए । चेक जाँचको क्रममा समस्या भए यातयात प्रालिले आफना सदस्यहरुलाई सहजीकरणका लागि बिभिन्न सहयोग गर्ने कुँवरले बताए ।
ट्राफिक प्रहरीको सक्रियतामा यो अभियान जिल्ला भर सञ्चालन गरिने उनको भनाई छ । जिल्लाको उपल्लो तम्घासबाट सुरु भएको अभियान जिल्लाका बिभिन्न स्थानमा पुगेर चेकजाँच गरिने छ ।
सवारी साधानको चेक जाँच र चालकहरुको स्वास्थ्य अवस्था बारे चेकजाँचको क्रममा समस्या आएकालाई मर्मत र उपचार गर्ने समय तोकिएको आचार्यले बताए। पटकपटक एउटै समस्या देखिए कारवाही समेत गरिने भएको छ ।
यो सँगै ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षण दिने गरेको छ । सडकमै चालक यात्रु राखेर दुर्घटना हुने बिशेष अवस्थाहरुसँगै सहि तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिँदा प्रभावकारी हुने हुँदा अभियान चालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले बताए ।
बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रशिक्षण दिँदै आएको छ ।
गुल्मीमा सडकमै सवारी साधानको चेक जाँच
गुल्मीमा सडकमै सवारी साधानको चेक जाँच

Advertisement
तपाईको प्रतिक्रिया