काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बाँकेको कोहलपुरबाट चोरी भएको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भू भुईंखेलबाट नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका–२ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई पक्राउ गरेको हो। कोहलपुर बाँकेबाट हराएको प्रदेश ३–०२, ००३ प २४७३ नम्बरको कालो रङको २०० सीसीको पल्सर एन एस मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ। उनले यही चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले सञ्चालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति–पत्र ‘ए’ वर्गको परीक्षामा बाँकेको खजुरा–३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परीक्षा दिएको समेत खुल्न आएको छ। वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाइकल आशिष गुरूङको रहेको समेत पत्ता लागेको छ। सम्बन्धित सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारीसमेत दिई सकेको महाशाखाले जनाएको छ।
नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई चोरी मुद्दा अनुसन्धान एवम् कारबाहीका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ।