शिव राज खनाल, दाङ(लमही) । छेउमै हरियो काँचो मकैको थुप्रो । केही मकै आगोमा पोलिँदै छन्। घामको तातो र आगोको रापका बिच शरीर पसिनाले भिजेको छ, चिम्टा समाउँदा हातमा ठेला परेका छन् । कोइला र खरानीको दाग अनुहारमा देखिन्छ । छाताको ओतमा आगोको फिलिंगासँग खेल्दै सुर्खेतका ३६ बर्षीया जीत बहादुर खड्का मकै पोलेर बेच्ने गरेका छन् । ग्राहक कुर्दै, मकै पोल्दै गरेर खड्काको गुजारा टार्ने खर्च जुट्छ ।
दाङको लमही चोकमा ओहोरदोहोर गर्ने गाडीका यात्रुहरूलाई दुई बर्ष देखि मकै पोलेर बेच्दै आएको खड्काले बताए।
‘के गर्ने घरमा चार जना छौ पालिन त पर्यो, गृहस्थी पनि धान्नै पर्यो । ‘खड्काले भने,’ । ‘अरु कुनै उपाय छैन, गरिबी छ बाँच्नलाई केहि त गर्नै पर्यो नि।’ खडका लमही नगरपालिका वडा नम्बर ५ मा कोठा लिएर बसेका छन। मासिक ३ हजार कोठा भाडा तिर्नुपर्छ । कोठाबाट मकैका घोगा, दाउरा, कोइला हम्किने पङ्खा र अन्य बन्दोबस्तीका सामान लिएर निस्किने उनीहरु राति नौ बजेसम्म व्यस्त हुन्छन्।
परिवारमा चार जना छन् । मकै पोलेर कमाएको पैसाको भरमा उनिहरुको गुजारा चलेको छ।
जीत बहादुरले मकै बेचेरै दिनमा पाँच सयदेखि आठ सय रुपियाँसम्म आम्दानी गर्छन । उनले एउटा मकैलाई २० रुपैयाँमा बेच्छन् । काँचो मकै भने प्रतिघोगा १५ मा बिक्री हुन्छ।
यसरी, मकै पोलेर कमाएको पैसाले कोठा भाडा देखि छोराछोरीको पढाई र घर खर्च धान्नमै ठिक्क हुने जीत बहादुरकी श्रीमति ममता खडका बताउछिन । स्कुल पढ्ने उनका दुई छोरा बिदाको दिनमा मकै बेच्न आमा–बुवालाई सघाउँछन् । थालमा मकै बोकेर उनीहरु पैदलयात्रुदेखि बसका यात्रुसम्म पुग्छन्।
‘लकडाउनले पढाइ सुचारु हुन सकेको छैन। त्यसैले छोराहरुलाई पनि यहि पेशामा लगाएकी छु।’ उनले भनिन।
भनिन्छ– इच्छा भए उपाय अनेक त्यसको गतिलो उदाहरण हुन् खड्का परिवार ।
दाङको देउखुरी क्षेत्रमा मकै पोल्ने सिजन कुर्नुपर्दैन।देउखुरीमा बाह्रै महिना मकैखेती हुने हुँदा यहाँ मकै पोलेर गुजारा चलाउनेहरु धेरै छन ।