सुरज भट्टराई, देवदह। रुपन्देहीको देवदहमा आज निशुल्क मधुमेह रोग परिक्षण शिविर सम्पन्न भएको छ ।
लियो कल्ब अफ लर्ड बुद्धको आयोजना तथा बुटवल स्थित मेडिक्रस डायग्नोष्टिक सेन्टरको प्राबिधिक सहयोगमा देवदह – ४ सिंगाहा स्थित श्री शान्ति प्रिय आधारभुत विद्यालय प्रांगाणमा एक दिने निःशुल्क मधुमेह परिक्षण शिविर सम्पन्न भएको हो । शिविरमा करिब ७० जनाले सुगर परिक्षण गरेका कार्यक्रम संयोजक अस्मिता पाण्डेले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएकी देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङले समुदाय स्तरमा आई निशुल्क स्वास्थ्य शिविर गरेकोप्रति लियो क्लब अफ लर्ड बुद्धलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । वहाँले आगामी दिनहरुमा पनि विभिन्न रोगीहरुका लागि यस प्रकारका शिविरहरु विभिन्न ठाउँमा निस्वार्थ भावनाका साथ सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो । साथै वहाँले यस्ता समाजसेवी संस्थालाई आफ्नो तर्फबाट संस्थाको लागि आवश्यक सहयोग गर्ने प्रतिवदता समेत ब्यक्त गर्नुभएको थियो ।
क्लबको अध्यक्ष सन्दिप तिवारीको अध्यक्षता रहेको कार्यक्रमको क्लबको सचिब अनुष्का घिमिरेले सञ्चालन गर्नुभएको थियो ।