बागलुङ – बडिगाड गाउँपालिकाले ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’ शुरु गरेको छ । कृषिमा आत्भनिर्भर बन्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो।कार्यक्रममार्फत् ठूला तथा व्यावसायिक कृषि तथा पशुपाल ‘फार्म’ सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको हो । योजना लागू गर्न गाउँसभाले चालु आवमा रु एक करोड ५० लाख बजेट छुट्टाएको छ । सोही बजेटबाट व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारी वा फार्मलाई सशर्त अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए ।‘कृषिलाई व्यावसायिक बनाउने प्रमुख उद्देश्य हो’, उनलेभने, ‘यसबाट रोजगारी सिर्जनासँगै विदेश पलायन रोकिने हाम्रो विश्वास छ ।’ ठूलो परिमाणमा उत्पादन नगरेसम्म कृषि क्षेत्र व्यावसायिक बन्न नसक्ने उनको भनाइ छ । गाउँपालिकाले बनाएको कार्यविधिअनुसार अनुदान रकम उपलब्ध हुनेछ । अनुदान पाउन कम्तीमा आधा हेक्टर क्षेत्रफलमा व्यावसायिक कृषि गर्नुपर्ने प्रावधान छ । पशुपालनतर्फ कम्तीमा २० भैँसी वा २५ गाई वा १०० बाख्रा ५०० कुखुरा पाल्नेले अनुदान पाउने छन् ।
‘उत्पादन, आम्दानी र रोजगार सिर्जनाको सुनिश्चिता भएमात्र अनुदान उपलब्ध गराउँछौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले भने । उनका अनुसार गाउँपालिकाका अध्यक्षको नेतृत्वमा रहेको समितिले गरेको अध्ययन र सिफारिसपछि अनुदानको प्रक्रिया अघि बढ्नेछ ।
गाउँपालिकाका १० वटै वडा समेट्ने गरी योजना छनोट गर्ने तयारी गरिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना निकालेर व्यक्ति, समूह, सहकारी र फार्मबाट आवेदन माग गरेको छ । ‘धेरै आवेदन परे भने छोटो सूची निकाल्छौँ’, अधिकृत सुवेदीले भने, ‘स्थलगत अध्ययनपछि छनोटको अन्तिम टुङ्गो लाग्नेछ ।’
योजनाको कूल लागतमध्ये गाउँपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराउनेछ भने बाँकी २५ प्रतिशत सम्बन्धित व्यक्ति, समूह, सहकारी र फार्मले लगानी गर्नेछन् । अनुदान र लगानीको सुरक्षाका लागि लालपुर्जा जमानतमा राख्ने सोचमा गाउँपालिका छ ।
गाउँपालिकाले नीति तथा बजेटमै कृषि क्षेत्रलाई प्राथमिकताका साथ सम्बोधन गरेको छ । बडिगाडमा व्यावसायिक तरकारी, फलफूल, खाद्यान्न बालीका साथै पशुपालनको प्रशस्त सम्भावना रहेको बताइएको छ ।