कबिता : भलादमी अखडा
एक रात,
मेरो खण्डहरजस्तै झुपडीमा तिमीले बास माग्यौ,
खोले र सिस्नु मीठो मानीमानी खायौ
मानौ तिम्रो भोक महिनादिन पुरानो थियो,
त्यही रात तिमीले मलाई
यस्तो भयङकर सपना देखायौ कि
जस्लाई म ज्यु हजुर गर्थे
जस्लाई म भगवान् मान्थेँ
उसैको बलि चढाएर सोही विहान ,
मैले आफ्नै जीन्दगी तिम्रो सपनामा
न्वछावर गरिदिएँ …
म फुल थिएँ मलाई पत्थर हुन सिकायौ
म डरपोक थिएँ मलाई निडर हुन सिकायौ
तिमीले आत्मसाथ गरेको भारी सपना
हामी आधा आधा बोक्यौ,
म बामे सर्दै थिएँ,तिमीले मलाई हिड्न सिकायौ,
हिडिरहन…. म हिडिरहे तिमीले देखाएका बाटाहरुमा ,,
तिमीले भनेका थियौँ
जबसम्म सपना भेटिदैन,तबसम्म पाइला रोकिदैन
मैले त्यसै गरेँ
तिम्रो अनुमति विना न सास फेरेँ , न बास हेरेँ
न घाम न पानी, मैले केही भनिन
कति पर हो जानी? त्यो नि कहिल्यै सोधिन
तर एक्कासी तिमी रोकियौ
एक्कासी तिमी सुस्तायौ,
युगौँदेखिका केही भलादमी अखडाहरुमा ,
तिमीले विगत् विर्सियौ र सपना बदल्यौ
र तिमी दुनियाँको नजरमा भगवान् भयौ,
तर म बदलिइन
म तिम्रै सपनाहरु बोकेर हिडिरहेँ
र फलस्वरुप म प्रतिबन्धित भएँ
तिम्रो भलादमी अखडामा,,
अब तिमी नै भनिदेउ
ए मेरो प्रिय मान्छे
म तिम्रै विरुद्ध तरवार उठाउँ
कि आत्मसमर्पण ???
©”ए.पी.” सुमन