कामना डेली,डोल्पा।
शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण कर्णालीका चार वटै विमानस्थल बन्द भएका छन् । बिमानस्थल बन्द भएपछी यात्रुहरु मारमा परेका छम।पहिलेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि विमानस्थल बन्द भएका हुन्। कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ ।
हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण आज नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसक्ने समिट एयर नेपालगञ्ज शाखाले जनाएको छ ।
लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन्् । हिउँ जमेका कारण जुफाल विमानस्थल पनि अवरुद्ध छ ।विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एकसातासम्म हवाई उडान ठप्प हुनसक्ने अनुमान गरिएको नागरिक उड्डयन प्राधिकरण जुफाल शाखाले गरेकोे छ । हिमपातका कारण दुई दिनदेखि नेपालगञ्जबाट कुनै पनि उडान हुनसकेको छैन । जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । “डोल्पा जानका लागि तीन दिनदेखि नेपालगञ्ज विमानस्थलमै जहाज कुरिरहेका छौँ, हिउँले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण डोल्पा जान पाएका छैँनाैं”, नेपालगञ्जमा जहाज कुरिरहनुभएका रमानन्द उपाध्यायले भन्नुभयो । “आज फेरि हिउँ परेकाले एक सातासम्म जान नपाइने अवस्था छ, तीन दिनअघि लिएको टिकट फिर्ता गरेर पैदल जाने तयारी गर्दैछौँ”, उहाँले भन्नुभयो ।
लगातारको हिमपातका कारण कर्णालीका विमानस्थल अवरुद्ध भएको र जिल्ला बाहिर आवतजावत गर्ने आन्तरिक बाटाघाटासमेत बन्द भएकाले कर्णाली मौसमी नाकाबन्दीजस्तै भएको छ ।