कपिलवस्तु । महाराजगञ्ज नगरपालिकाका युवा नेता हसमत अली ‘बब्बु’ले विपत्तिको समयमा सरकारको विरोधभन्दा उद्धार, राहत र पुनःस्थापनाका काममा सहकार्य गर्नुपर्ने बताएका छन् ।
भदौ १० गते आएको बाढीबाट रसुवालगायत विभिन्न जिल्लाका नागरिक प्रभावित भएको उल्लेख गर्दै उनले संकटमा परेका नागरिकको उद्धार तथा राहतका लागि सरकारले गरिरहेका काममा सबैले सहयोग गर्नुपर्ने बताए ।
पछिल्लो समय सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको भन्दै बब्बुले विपत्तिको समयमा आरोप–प्रत्यारोपभन्दा पीडित नागरिकको उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
‘विपत्तिको समयमा सरकारलाई काम गर्ने वातावरण बनाउनुपर्छ । सरकारका कमजोरी छन् भने त्यसको समीक्षा र आलोचना पछि पनि गर्न सकिन्छ,’ उनले भने, ‘तर अहिले संकटमा परेका नागरिकलाई तत्काल सहयोग आवश्यक छ ।’
उनले राजनीतिक दलहरूलाई समेत दलगत स्वार्थभन्दा माथि उठेर विपत्तिमा परेका नागरिकको सहयोगमा जुट्न आग्रह गरे । विपत्तिको समयमा राजनीतिक दल, नागरिक समाज, युवा तथा सामाजिक संघसंस्थाबीच सहकार्यको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा राज्यका संयन्त्रसँगै राजनीतिक दल र आम नागरिकको पनि महत्वपूर्ण भूमिका रहने उनले बताए ।
संकटको समयमा एक–अर्कालाई दोषारोपण गर्नुभन्दा हातेमालो गरेर पीडित नागरिकको जीवन सहज बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।
विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
Advertisement
तपाईको प्रतिक्रिया