बुटवल । बुटवलको तिनाउ नदीमाथि आधुनिक तथा आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माणको प्रक्रिया अघि बढेको छ। सडक विभागले ठेक्का अवार्ड गरेसँगै लामो समयदेखि चर्चामा रहेको पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ साकार हुने चरणमा पुगेको हो। सडक विभागअन्तर्गत विकास सहयोग कार्यान्वयन महाशाखाले सार्वजनिक गरेको ठेक्का अवार्ड सूचनाअनुसार चिनियाँ कम्पनी एम/एस आनहुइ सिजियान होल्डिङ ग्रुप लिमिटेड सिग्नेचर ब्रिज निर्माणका लागि छनोट भएको छ। गत ३ सेप्टेम्बर २०२६ मा जारी ठेक्का अवार्ड सूचनाअनुसार उक्त कम्पनीले भ्याट तथा पीएससहित १ अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा ठेक्का पाएको हो।
आयोजनाको निर्माण अवधि तीन वर्ष रहनेछ। निर्माण सम्पन्न भएपछि थप पाँच वर्षको ‘डिफेक्ट नोटिफिकेसन पिरियड’ समेत रहने गरी आयोजनाको कुल अवधि आठ वर्ष तोकिएको परियोजना निर्देशक अर्जुनप्रसाद अर्यालले जानकारी दिए।
तिनाउ नदीमाथि बन्ने सिग्नेचर ब्रिजलाई बुटवलको नयाँ पहिचानसँग जोडिएको महत्वाकांक्षी पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ। आधुनिक डिजाइनमा बन्ने पुलले यातायात व्यवस्थापनसँगै बुटवलको सहरी सौन्दर्य र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि चर्चामा रहे पनि निर्माणको चरणमा पुग्न नसकेको यो आयोजना अब ठेक्का प्रक्रिया अगाडि बढेसँगै कार्यान्वयनतर्फ प्रवेश गरेको छ।
तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
Advertisement
तपाईको प्रतिक्रिया