सिसहनियाँ। दाङको राप्ती गाउँपालिका–४ जनकपुरकी ४६ वर्षीया शान्ती चौधरी दुई साताअघि घर निर्माणका क्रममा छतबाट खस्दा मेरुदण्ड भाँचियो। परिवारले तत्कालै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए पनि आर्थिक अवस्था कमजोर भएकाले सल्यक्रियाका लागि आवश्यक रकम जुटाउन सकिएन। त्यसपछि गाउँपालिका अध्यक्ष प्रकाश विष्टमार्फत बुटवलका हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठसँग सम्पर्क भयो। डा. श्रेष्ठसहितको टोलीले सरकारी अस्पतालको भन्दा न्यून शुल्कमा एडमन्ड सिटी अस्पताल, जितगढीमा सफल शल्यक्रिया गरेपछि शान्तीको स्वास्थ्यमा सुधार आएको छ। अहिले उहाँको दुबै खुट्टामा शक्ति फर्कने प्रक्रिया जारी छ।
शल्यक्रियापछि शान्तीलाई गाउँ नजिकैको राप्ती आधारभूत अस्पतालमा भर्ना गरी पोस्ट–अपरेटिभ हेरचाह दिइँदैछ। स्थानीय चिकित्सकहरूले डा. श्रेष्ठसँग नियमित सम्पर्कमा रहँदै उपचार गरिरहेका छन्।
यसै अस्पतालमा राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका ४७ वर्षीय हरिकराम चौधरीको पनि उपचार भइरहेको छ। घरको छत ढलान गर्ने क्रममा खस्दा टाउकोमा गम्भीर चोट लागेका चौधरीको बुटवलमा सफल शल्यक्रियापछि अहिले गाउँमै उपचार भइरहेको हो।
अस्पतालका चिकित्सकका अनुसार यस्तै जटिल प्रकृतिका तीन जना बिरामी हाल त्यहाँ उपचाररत छन्। घर नजिकै स्वास्थ्य सेवा पाउँदा बिरामीका आफन्तलाई रेखदेख गर्न सहज भएको छ भने कमजोर आर्थिक अवस्थाका परिवारलाई ठूलो राहत पुगेको छ।
पहिले गम्भीर बिरामी परे बुटवल, भैरहवा वा नेपालगन्ज जानुपर्ने बाध्यता भए पनि अहिले गाउँमै गुणस्तरीय उपचार उपलब्ध हुँदा ठूलो राहतको अनुभूति भइरहेको बिरामीहरूले बताएका छन्।
डा. राजकृष्ण श्रेष्ठ हरेक महिनाको चौथो शुक्रबार राप्ती आधारभूत अस्पताल पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। उहाँको निरन्तर सेवाभावले स्थानीयमा स्वास्थ्य उपचारप्रति विश्वास र आशा जगाएको छ।
बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा
बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा
Advertisement
तपाईको प्रतिक्रिया