भैरहवा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचार, मानव तस्करी र नागरिक सरोकारका अन्य मुद्दा सदन र सडक दुवै माध्यमबाट थप प्रभावकारी ढंगले उठाउने निर्णय गरेको छ।
पार्टीको भैरहवामा आज बसेको संसदीय दलको बैठकले रास्वपालाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
उनका अनुसार भिजिट भिसाको नाममा हुने भ्रष्टाचार र मानव बेचबिखन लगायतका विषयमा संसदमार्फत प्रश्न उठाइनेछ। साथै, पार्टीले अन्य भ्रष्टाचारसम्बन्धी फाइल खोल्न सरकारलाई दबाव दिने तयारी गरेको छ। “नागरिकका मुद्दा सदनमा स्थापित गराउन रास्वपा सफल भएको निष्कर्ष बैठकले निकालेको छ,” प्रमुख सचेतक परियारले भने।
दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा दिउँसो १ः३० बजे सुरु भएको बैठक साँझ ६ बजे सम्पन्न भएको थियो। १९ जना सांसदको उपस्थिति रहेको बैठकले आगामी आन्दोलनलाई थप फराकिलो बनाउने र समितिमा समेत सशक्त उपस्थिति जनाउने निर्णय गरेको परियारले जानकारी दिए।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न दबाव दिने र स्थानीय मुद्दामा पार्टीले सहकार्य गर्दै अघि बढ्ने बताए।
कार्तिक २७ गते हुने रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनबारे भने बैठकमा कुनै निर्णय नभएको परियारले बताए।
रास्वपाले सदन र सडक दुवैबाट भ्रष्टाचारका मुद्दा उठाउने
रास्वपाले सदन र सडक दुवैबाट भ्रष्टाचारका मुद्दा उठाउने
Advertisement
तपाईको प्रतिक्रिया