प्युठान । दशक अघिसम्म चाडपर्वमा गाउँघरका सबै मिलेर चर्खे पिङ बनाउँथे। काठैकाठले बनाइने यस्ता पिङ टोलैपिच्छे देखिन्थे । दशैमा एक दिन जमिन छाड्दा पवित्र भईने मान्यता अनुसार पिङ खेल्ने धेरै हुन्थे । साथीसंगी भेट्ने थलो पनि पिङ नै हुन्थ्यो । तर, हिजोआज पर्वको रौनक बढाउने चर्खे पिङ्ग विस्तारै हराउदै गएको छ।
पछिल्ला १० वर्षयता भने त्यस्तो पिङ खेल्न त परको कुरा, देखिन समेत छोडेको प्युठनको सरुमारानी –३ हंसपुरका लाल बहादुर गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘१५–१६ वर्षअघि सम्म छ्यापछ्याप्ती खेल्न पाइन्थ्यो , ‘अहिले त पिङ राख्न छाडिसके ।’
युवा पुस्ता गाउँमा नबस्नु र परम्परा बिर्संदै गएपछि अहिले यस्तो पिङ देख्नसमेत मुस्किल भएको गुरुङले बताउनुभयो ।

स्वर्गद्वारी नगरपालिका – ८ धनचौरमा चर्खे पिङ खेल्दै स्थानीय। तस्वीर ः कामनाडेली।
विगतमा जिल्लाका सबैजसो स्थानमा चर्खे पिङ बनाउने चलन रहे पनि पछिल्लो समय जिल्लाको एकाध ठाउँमा मात्रै यस्तो पिङ देख्न पाइन्छ।
नौबहिनी –१ स्याउंलिबाङका जेम्स मगरले प्युठानमा विगतमा तीजमा हालिएको पिङ तिहारसम्म राख्ने चलन थियो । तर, पछिल्लो समयमा खरले बाटेका पिङ पनि लोप हुँदै गइरहेको बताउनुभयो। उहाँले परम्परागत संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्ने बताउनुभयो।