मोरङ । विराटनगरमा सञ्चालकसहित थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–२ की ६० वर्षीया महिला, विराटनगर–३ का ६६ वर्षीय पुरुष, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय र पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन्। प्रजिअ बस्नेतका अनुसार विराटनगर–२ की महिलाको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो। ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी विराटनगर–३ र ग्रामथान–४ का पुरुषको नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार ग्रामथानका पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा स्वाब परीक्षण गराउँदा असोज २९ गते कोरोना पुष्टि भएको हो ।
विराटनगर–३ का पुरुषलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनलाई शरीरमा अक्सिजन र रगतमा सुगरको मात्रा कमी हुनुका साथै श्वासप्रश्वासमा समस्या आएपछि आइतबार साँझ अस्पताल भर्ना गराएकोमा उपचारकै क्रममा मृत्यु भएको दाहालले बताए ।
यस्तै, पथरीशनिश्चरे–१ का पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । उनलाई कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजिटिभ आएको थियो ।