रुपन्देही । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका रहेका छन् । बुटवल-११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएकोमा लैजादै गर्दा आज बिहान बाटोमै मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पतालका कोरोना पोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए ।
यसैगरी बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आज मृत्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो । बुटवल-१ का ७० वर्षीय पुरुषको गएराति धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी तिलोत्तमा नगरपालिका-३ निवासी ६६ वर्षीया महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझण्डीमा संक्रमणका कारण मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।
आईसीयू बेडको अभावका कारण ती बिरामीहरुलाई रिफर गरी दाङ र नेपालगञ्ज पठाइएको डाक्टर थापाले जानकारी दिए ।