नारायण खनाल”” निलम””
सन्दर्भ:
नेपाली साहित्य आकाशमा एक नया विधा ‘झर’ले उडान भरिरहेको छ । यो आजको समयसम्म नेपाली साहित्यमा सबै भन्दा कान्छो विधा हो । निलो आकाशमा ‘झर’को उडान साच्चिकै मनमोहक देखिइरहेको छ । नेपाली माटोमा जन्मेको यो विधा साच्चिकै नौलो छ, सर्जकहरु माझ । प्रत्येक व्यक्ति सर्जक होऊन् भन्ने वृहत उद्देश्य राखेर यसको जन्म भएको छ ।
नेपाली बृहत शब्दकोशमा झर शब्दलाई यसरी अर्थाइएको छ, झर: पानी बर्सेको वा झरना खसेको शब्द, चामलको पिठो घिउ वा नौनीमा मुछी कपडामाथि बेलेर गुलियो पदार्थ नमिसाइ पकाइने एक किसिमको रोटि; घिउरोटि; घेवर, बर्सिरहेको पानीको अधोगामी प्रवाह, त्यस्तो प्रवाहको कुनै एक एकाई (एक झर, दुइ झर, तीन झर, इत्यादी) ।
उत्पत्ति:
स्याङ्जाली सर्जक शिव खनाल “जीवन” ले लक्षित साहित्य अन्तर्गत २०७७ जेठ ३ मा केहि रचना लेखि ती रचनाहरुलाई २०७७ जेठ ४ मा चामलको रोटी संग तुलना गर्दै झरको नाम दिनुभएको थियो ।यी रचनाहरु २०७७ जेठ ९ गते कालिगण्डकी अनलाईनमा प्रकाशित भएका थिए।२०७७ जेठ ४ मा अर्घाखाँचीका सर्जक नारायण खनालले “झर” शब्दलाई झर झर झरिरहेको/ वर्षिरहेको पानीसँग जोडेर अर्थाइ झरको साहित्यिक अवधारणा स्पष्ट पारेपछि नेपाली साहित्यमा यसको औपचारिक जन्म भयो ।
परिचय: प्रत्येक व्यक्तिमा केहि न केहि प्रतिभा हुन्छ । सो प्रतिभाको समुचित सदुपयोगले व्यक्ति, समाज र राष्ट्रको प्रगति, समृद्धिमा ठुलो सहयोग पुग्छ । भाषा, संस्कृति, परम्परा, जनबोली, जनआस्था हाम्रा अमुल्यनिधि हुन् ।जसलाई जोगाउनु हाम्रो परमकर्तब्य हो । त्यहि अनुपम उद्धेश्य पुरा गर्न व्यक्तिले आफ्नो जीवनका अनुभव सजिलोसँग उतार्ने गरि बिम्ब ,भाव र श्रीङ्गार दिई परिस्कृत परिमार्जित रुपमा समाजलाई विकास गरेर उचाइमा पुग्न प्रेरित गर्ने उद्देश्यले यो विधाको सुरुवात गरिएको छ ।
संरचना: दुइ पङ्क्ति, स्वच्छन्द
झरको पहिलो पङ्तिमा विषयवस्तुको उठान गरिन्छ र दोस्रो पङ्क्तिमा त्यसको पुष्टि गरिन्छ ।यो गद्द्य वा पद्य जुनसुकै शैलीमा पनि लेख्न सकिन्छ ।साहित्यमा रचिने रचनामा चाहिने बिम्ब ,भाव, श्रीङ्गार त स्वभावत: अत्यावश्यक हुन्छन् नै ।
विभिन्न उखान, जनबोली र सुक्तिले जसरी समाजलाई छोटो कथनमै विषयवस्तु र सम्वन्धलाई गहन भावमा प्रस्तुत गर्न सक्छन । त्यहि भावमा, उद्धेश्यमा टेकेर झर रचना गरिन्छन् । बिम्ब र श्रीङ्गार जति भर्न सकियो झरले त्यत्तिकै गहन अर्थ दिन सक्छ ।
झरलाई विभिन्न प्रकारमा बाँडेर लेखनमा उतार्न सकिन्छ। जस्तै: लोक झर, दार्शनिक झर, भावनात्मक झर, कवितात्मक झर, प्रयोगात्मक झर आदि । उखान र प्रचलित लोकोक्ति लाई झरको रुपमा लेखिने छैन। चलिआएका उखानहरु र लोकोक्तिहरु नेपाली समाजका आफ्नै सम्पति हुनेछन् । दुई पंक्ति अनुच्छेदमा ठ्याक्कै छन्द कविता ,लोक छन्द र गजलको मतलामा समेटिनेगरी झर रचना गरिने छैन ।
नेपाली साहित्यमा झरले विशाल हृदय बोकेर आएको छ ।आम जनसमुदायको मनको भावनाहरु जति साहित्यमा ल्याउन सकिन्छ त्यति नै उक्त साहित्यको उद्धेश्य र महत्वले अर्थपूर्णता प्राप्ति गर्न सक्छ । देख्दा सामान्य लाग्ने” झर” शब्दको अर्थ जनताको आत्म सँग गाँसिएको छ ,प्राकृतिक शीतलता सँग गाँसिएको छ ।यसले जनताको भावनाको प्रतिनिधित्व गर्छ ।प्राकृतिक सौन्दर्यको प्रतिनिधित्व गर्छ ।
नेपाली साहित्य आकाशमा झरलाई घिउ रोटि जस्तै मिठो र पानीको झरले प्रकृतिमा दिने शितलतासँग तुलना गरेर झरको साहित्यिक अवधारणा स्पष्ट पार्नु भएका सर्जक नारायण खनालका अनुसार “झरले प्रकृतिमा धर्ति र प्राणीजगतलाई सरल साहित्यको माध्यमबाट शीतलता प्रदान गरि चरम आनन्द दिन सकिने, सकारात्मक बनाउन सकिने र समग्र जीवन जगतलाई सकारात्मक बाटोमा डोर्याउने सकिन्छ ।” “झर संवर जीवन साहित्य, भाव निर्झर” भन्ने झरको एक उदाहरणबाटै साहित्यमा झरको छाती कति विशाल छ भन्ने प्रतित हुन्छ ।
आदरणीय सर्जक मित्रहरू !
जनजीवनका यथार्थलाई तपाईंको कल्पना शक्ति मार्फत ,भाषिक सौर्न्दर्यमा सिँगारेर बिम्ब,भाव प्रदान गर्दै दुई पंक्ति मार्फत सुन्दर साहित्य सृजना गर्न सक्नुहुनेछ । हामीले जति सुन्दर रचना गर्न सक्यौं त्यति नै यो विधाले नेपाली साहित्य र नेपाली माटोको ऋण तिर्न सक्नेछ । योगदान पु-याउन सक्नेछ । संसार भर सुगन्ध फैलाउन सक्नेछ ।हामी सर्जकहरुले यो कुरामा मुख्य ध्यान दिनैपर्छ कि हामीले गरेको रचनाले हृदयमा स्पर्श गरोस् ।बास्तबिकताको बोध गराओस् ।
तबमात्र हाम्रा पाठक बढ्नेछन् ,झर सहयात्रि बढ्नेछन् ।यि दुई पंक्तिले साहित्यमा जति सुवास छर्न सक्छ ,चोटिलो प्रभाव पार्न सक्छ,हाम्रो रचनाको सार्थकता त्यति नै बढी हुनेछ ।
त्यसैले हामीले रचना गरेका झरले जनजीवनका दुख पीडा अनुभूतिलाई ब्यङ्ग चेतनाले खबरदारी गरेर जनताको एकता र राष्ट्रको शिर ठाडो पार्न सहयोग पु-याउनु पर्छ ।नेपाली माटोको संस्कृति झल्काउने यो विधालाई भाव ,बिम्ब र ब्यङ्ग्यको सौन्दर्य झल्कने तर्फ मुखरित गर्नु हामी सबैको कर्तव्य हो ।सर्जकहरु यसतर्फ सचेत हुनु जरुरी छ। लेखनको विकास हुदै जाँदा झरहरुको समूहले झरना बनाउने र अन्ततः क्रमश नदि बनेर सागरमा पुग्ने छन ।
लेखन र उदाहरण:
पहिलो लेखन: शिव खनाल ‘जीवम’ २०७७ जेठ ३, प्रकाशन २०७७ जेठ ९, कालि गण्डकी अनलाइन दोस्रो लेखन: नारायण खनाल, २०७७ जेठ ११, प्रकाशन २०७७ जेठ ११ सबैको न्युज अनलाइन । यसरी झर लेख्दै जाने क्रममा कैलालीका सर्जक आर्त आकुलीनले त झन् विभिन्न भाषामा झर लेखेर गर्विलो प्रस्तुति पेश गरिरहनु भएको छ । संख्या, भाषा र मेहेनतका हिसाबले झरलाई अघि बढाउने अभियानमा उहाँको देन नमनिय छ । उहाँ झर साहित्यको गर्विलो अभियन्ता हो|आजका मितिसम्म उहाँको झरनाले नदि बनाईसकेको छ । हामीलाई मनैदेखी सल्लाह सुझाव दिएर यो विधाको उन्नयनमा सहयोग गरिरहनु भएका आदरणीय सर्जक जीवन पानी दाजु प्रति आभार ब्यक्त गर्न चाहन्छु ।विदेशमा रहेर पनि झर साहित्यलाई माया गर्नु भइरहेका सर्जकहरुलाई बिशेश धन्यबाद छ । अन्य धेरै सर्जकहरुको पनि यसको उत्थानमा अतुलनीय योगदान रहिआएको छ।जन्मेको छोटो समयमै पचासौ हातहरु झर यात्रीको कलम बनेका छन् ।उहाँहरु सबैका रचना अभिलेखिकरण गरिएको छ। सम्पूर्ण सर्जकहरुलाई एउटा लेख मार्फत समेट्न नसकेकोमा माफी चाहन्छु ।
नेपाली साहित्य र नेपाली साहित्य म्यासेन्जर ग्रुप र झर साहित्य सागरमा झरको चर्चा परिचर्चा सुरु भएपछि देशभरका सर्जकहरु झर प्रति आकर्षित हुनु भएको छ, सबै सर्जकहरुलाई झर साहित्य अभियानमा हार्दिक स्वागत तथा नमन छ । साहित्य फाँटमा झरको जन्म साहित्यलाई कुरूप बनाउन होइन । जनताको जीवन साहित्य फुलाउन र प्रत्येक व्यक्ति सर्जक बन्न सक्ने विशाल अवधारणा बोकेर हामी आएका छौँ ।
भाषा संरक्षणमा समेत यसले महत्त्वपूर्ण योगदान दिनेछ।यसले गतिशीलतालाई पछ्याउने छ र जीवनलाई कामदिने सन्देश प्रदान गर्नेछ ।
सृजनाको क्रममा हुन सक्ने गल्तिलाई सुधार्दै रचनात्मक र सृजनात्मक जनसाहित्यलाई आत्मसाथ गरेर अघि बढ्ने छौँ । यो नेपाली माटोको मौलिक विधा हो, हामी बिगार्न होइन सपार्न जुटेका छौँ । जनसाहित्यलाई सृजनात्मक लेखन द्वारा झन समृद्ध बनाउन हामी लागि परेका छौँ ।
झरलाई सकेसम्म रसिलो बनाउने हाम्रो मेहनतलाई हामी लक्ष्य सम्म नपुग्दै बिश्राम लिन दिने छैनौं । परिस्कार र परिमार्जन त निरन्तर प्रक्रिया हो ,भइरहन्छ ,भइरहने छ।
प्रयोगात्मक साहित्य म्यासेन्जर ग्रुप, झर साहित्य सागर, नेपाली साहित्य म्यासेन्जर ग्रुप र नेपाली साहित्य परिवारमा जोडिएर हामीलाई उर्जा दिनुहुने आदरणीय सर्जक ज्युहरु प्रती हामी कृतज्ञ छौं ।
केही झरहरु
नारायण खनाल:
-वर्षाको भल
पहाडी धरा, मर्छ पलपल ।
-आकाशमा चिल उडान
धर्तिमा चल्लाको देवघाट ।
-सपना देख
जीवन फुलाउन ।
-नयनको चिर्न भ्रम जाल
मुटुमा हुनुपर्छ आँखा देख्ने मजाल।
-पसिनाको फल
कतै जल,कतै मल
-जसले मिथक तोड्छ
उसले चट्टान फोड्छ
-आउन नेपाल घुम्न
बुद्धको आँखाबाट ,सगरमाथाको स्वाभिमान चुम्न
-जब जूनले पोल्छ
मन चुक्छ ,विश्वास झुक्छ
-चस्माले देख्दैन सत्य
मनको आँखाले हेर्नुपर्छ
-मृन्मयकला
बन्यो अबला
केही झरका उदाहरण र तीनका अर्थ:
१: पसिनाको फल
कतै जल,कतै मल
यस झरको पहिलो पंक्तिमा पसिनाको फलले दिने फल कस्तो हुन्छ भन्ने भावको उठान गरिएको छ भने दोस्रो पंक्तिले पसिनाकोफल कतै उपलब्धि सही बनेर जीवन रस बन्ने ,जीवन फुल्न सहयोगी बन्ने र जीवनमा सफलता हात लाग्छ भनिएको छ भने कतै विभिन्न कारणले पसिना खेर जाने, कुहिने भनेर पुष्टि गरिएको छ।
२: नयनको चिर्न भ्रमजाल
मुटुमा हुनुपर्छ आँखा देख्ने मजाल
यस झरको पहिलो पंक्तिमा आँखाको भ्रम चिर्न कसरी सकिन्छ भन्ने भाव उठान भएको छ भने दोस्रो पंक्तिमा उक्त भ्रम चिर्न मनमा आँखा देख्ने भन्नुको अर्थ सत्य असत्य छुट्टाउन सकिने क्षमता हुनुपर्छ भनि पुष्टि गरिएको छ।
३-सपना देख
जीवन फुलाउन
यो झरको पहिलो पंक्तिमा जीवन फुलाउन,प्रगति गर्न सपना देख्न सक्नुपर्छ भन्ने भावना ब्यक्त छ भने दोस्रो पंक्तिमा सपना देख्न सकेमात्र, कल्पना गर्न सके मात्रै,आउने बाटोको परिकल्पना गर्न सकिने र सोही अनुसार गर्न सके जीवन फुल्ने ,सफलता हासिल हुने कुराको पुष्टि गरिएको छ।
४- वर्खामा भल
पहाडी धरा, मर्छ पलपल
यस झरको पहिलो पंक्तिमा वर्खामा उन्मत्त भइ बग्ने भलले गर्न सक्ने विघ्नको उठान गरिएको छ भने दोस्रो पंक्तिले पहाडी भिरालो जमिन उक्त जोखिम वा विघ्नका कारण पलपल डराउनु पर्ने कुराको पुष्टि गरिएको छ।
५-जसले मिथक तोड्छ
उसले चट्टान फोड्छ
यस झरको पहिलो पंक्तिमा मिथ्याकुरा तोड्न सके के गर्न सकिन्छ भन्ने भावको उठान गरिएको छ भने दोस्रो पंक्तिमा उसले ठूला ठूला काम सफलता पूर्ण तरिकाले गर्न सक्ने कुराको पुष्टि गरिएको छ। यसरी प्रत्येक झरले गहन अर्थभाव प्रदान गर्न सक्ने कुरा प्रष्ट हुन आउँछ ।
नमन र अन्य:
आदरणीय सर्जक मित्रहरु !
हामी सबैलाई थाहा छ,विचार फुटाउनालाई चिन्तन चाहिन्छ,चिन्तनको निम्ति साधना । त्यसैले कविताको भाषा बोलचालको भाषाभन्दा भिन्न भएरनै त्यसले आफ्नो निजस्व प्राप्त गर्छ भन्ने कुरालाई हामीले मनन गर्नुपर्छ ।शब्दमा आन्तरिक सौन्दर्यको संयोजन छ छैन ख्याल गर्नुपर्छ । हामीले गर्ने शब्द चयन प्रतिक संयोजन र अर्थमा चमत्कार सृजनाको ध्य्येयले कलात्मक र भावात्मक झर सिर्जना गर्न सकिन्छ । हाम्रो गाउँ समाजमा रहेका विषयहरु जस्तै बोलीबचन,मौखिक इतिहास,मौखिक कलाहरुबाट प्रशस्त नयाँ बिम्बहरू निर्माण गरि झर सिर्जना गर्नाले साहित्यमा हाम्रो उपस्थिति गर्विलो बन्नेछ ।
आदरणीय साहित्य प्रेमी महानुभावहरु !
हामी सबै व्यक्ति सर्जक होऊन् भन्ने महान लक्ष्यका साथ अघि बढिरहेका छौँ । तपाईहरुको सकारात्मक सल्लाह, सुझाव र सहयोगले नेपाली साहित्य जगतमा ‘झर’ स्थापित गर्ने लक्ष्य पुरा हुनेमा ढुक्क पनि छौँ । थुप्रै सर्जकहरु जो यस अभियानमा हुनुहुन्छ, पाठकहरु जसले अभिरुचीका साथ पढीरहनु भएको छ सबैलाई हृदयदेखि नमन छ । हरेक विधामा सुरुमा अलमल हुने कुरा स्वाभाविक हो । रचना सृजनाको क्रममा परेका अलमल र समस्याहरुलाई क्रमश प्रस्ट्याउने काम हुनेछ । झर लेखनमा रहेका कमजोरीका बारेमा पनि छलफल गरेर,एकरुपता कायम गर्नुपर्छ जसले झरको साहित्यिक मान्यतालाई संसारभर छर्न सहयोग पु-याउनेछ। ‘झर’ले नेपाली साहित्य आकाशमा आफ्नो उडान अविछिन्न भरिरहने छ । “झर संवर जीवन साहित्य, भाव निर्झर” अस्तु ।
लेखक खनाल,पाणिनि बहुमुखी क्याम्पस र विजय मा वि डिभर्ना अर्घाखाँचीमा शिक्षण गर्नहुन्छ।