हामी समग्रमा बुझ्ने गर्दैछौं कि! राजनीति भनेको समग्र जनता र राष्टको हीत अनुकूल काम गर्ने नीति हो भनेर । राजनीति एउटा कला हो, विज्ञान हो, एउटा शैली हो,अझ त्यतिमात्र नभई विद्यमान मौजुद अनुकूल अबस्थाको उचित निकास हो। यसलाई कुनै वृहत् परिभाषामा ढाल्नु आवश्यक छैन ।
त्यसैले सर्वसाधारणले समेत बुझ्ने भाषामा भन्नुपर्दा राजनीति एउटा राष्ट्र सेवा गर्ने महत्त्वपूर्ण र दरिलो माध्यम हो।तपाई राजनीति र समाजसेवा लाई संगै राखेर पनि हेर्न सक्नुहुन्छ ।र यी दुई एक सिक्काको दुई पाटा हुन भन्दा फरक नपर्ला ।त्यसैले देशको नीति नियममा रहेर सिङ्गो राष्ट्र र जनताको सर्वोत्तम भलोमा केन्द्रित हुनु र सोही अनुरुप शासन गर्नु राजनीति हो,भनी म बुझ्दछु। … राजनीति गर्नु त्यति सामान्य पनि मानिदैन जति अहिले हामी देखेका भोगेका र बुझेका छौँ ।राजनीति गर्नका लागि त्योभन्दा धेरै कुराहरू अपरिहार्य रहन्छ ।
जसमध्ये होस्, जोस, ज्ञान र क्षमता भएका युवावर्ग राजनीतिको केन्द्र विन्दुमा पर्दछन्। त्यसैले राजनीतिको आधारशिला भनौं या आधारस्तम्भ आजको युवा वर्ग नै हो ।
युवा त्यो हो जसमा बल,वुद्दि र क्षमताको भरपुर मिश्रण पाइन्छ । युवा भनेको त्यो शक्ति हो जसले समाज राष्ट्र र विश्व परिवर्तन गर्ने सामर्थ्य राख्दछ।आज विकास या सम्मृद्दि जे भनेपनि जुन युवा विना कल्पनाभन्दा बाहिर रहन्छ ।आज विश्वमा जति ठूलो परिवर्तन भएको छ त्यो युवाकै सक्रियता ,साथ र सामर्थ्य ले भएको छ।त्यसैले युवा आफैमा परिवर्तनको साधन हो, संवाहक हो।
नेपालको सन्दर्भमा माथि उल्लेखित मेरो भनाइ र तात्पर्य ले जे कुराको पुष्टि गर्न खोजिरहेको छ त्यो भन्दा एकदमै भिन्न बाटोबाट नेपाली राजनीति अघि बढेको पाइन्छ । राजनीतिको परिभाषालाई वङ्ग्याएर फरक पाटोबाट परिभाषित गरिदै छ।यहाँ राजनीतिको एकमुष्ठ परिभाषा पाउन गार्हो छ। सर्वसाधारणको लागि राजनीतिको परिभाषा र उच्च पद ओहदामा बस्ने र त्यीनका चाप्लुसी गर्नेकालागी राजनीतिको परिभाषा नितान्त बेग्लै छ।राजनीति राष्ट्र सेवाको माध्यम हुनुपर्छ भनिरहदा राजनीतिलाई आफ्नो जीवनभरको व्यवसाय बनाउनेको लर्को चलिरहेको छ। हाम्रो चलन अनुसार आन्दोलनमा भाग लिनु,जेलमा बस्नु,कुनै दलमा संलग्न हुनु जस्ता क्रियाकलापबाट राजनीतिमा पस्ने गरेको पाइन्छ ।यसको लागि न पढाइ जरुरी मानिन्छ, न कुनै व्ययसायिक कौशलताको खाँचो पर्छ ।यस्तो अबस्थामा कसरी राजनीति ले नेपालको भलो गर्न सकोस् । यो सबैको सोधनीय र चासोको विषय बनेको छ।
एक पटक त्याग गरेको वहानामा जीवनभर जनतालाई दुख दिने परिपाटीको अन्त्य गर्नु जरुरी छ।राजनीतिको अर्थ वैकल्पिक रोजगार र हर क्षेत्रमा असफलहरुको आकर्षण स्थल बन्न पुगेको छ।र यस्तो जमातले अझै नेपाली राजनीतिमा कब्जा जमाइराख्ने अबस्थामा मूलुक रहेको छ। … हरेक एउटा एउटा वहानामा युवाको श्रम शक्ति र सामर्थ्य खेर फालिदै छ।युवा पहिचानको त्यो जोस होस र तागतको अनुचित प्रयोग भइरहेको छ।
युवा देश बिकास र परिवर्तनको संवाहक हुन भनिरहदा एउटा राजनीतिक दलको झोले प्रवृतिमा आजको युवा सीमित रहेको देखिन्छ ।
आज ठीकलाई ठीक र गलतलाई गलत समेत भन्न नसक्ने त्यो कडीमा युवापुस्ता बाँधिएका छन् ।21 अौँ शताब्दीको अाफ्नो सिर्जनशीलता कौशलता र वास्तविकतालाई अन्तरमनले राम्रोसँग नियाले पनि त्यसलाई बाहिर प्रष्फुटित पार्ने सामर्थ्य आजको युवामा देखिदैन ।विभिन्न वाद सिद्धान्त र मान्यताले सिङ्गो युवाशक्तिको होस् जोस र क्षमतालाई गलाउँदै गइरहेको छ।
राजनीतिको नाममा युवाको दुरुपयोग एकातिर छ भने राजनीति लाई सर्वेसर्वा ठान्ने एउटा युवाको जमातले आफ्नो परिभाषा र भूमिका गुमाउन पुगिरहेको छ। यस्तो परिपेक्षमा अब कस्तो नेतृत्वको विकास र अबको युवाको बाटो कुन भन्ने प्रश्न महत्त्वपूर्ण रहन्छ ।अब युवाले सही नेतृत्वको विकास आफैबाट गर्नुपर्दछ,समग्र राष्ट्र र जनताको हितमा काम गर्ने नीति नै केबल राजनीति हो भन्ने बुझ्दै असल सक्षम र सबल नेतृत्वको चयनमा आफ्ना पाइला अगाडि बढाउनु पर्नेछ ।आजको युवाले नेतृत्व भनेको योजनालाई यथार्थमा बदल्न सक्ने हो र समाजको मौजुद संरचना र परिस्थिति बाट समाजलाई प्रगतिशील बाटोमा अघि बढाउने व्यक्ति मात्र नेता हो भनी बुझ्नु जरुरी छ। राजनीति र नेताको परिभाषा लाई राम्रोसँग बुझ्दै विभिन्न आदर्श ,वाद,मूल्य र मान्यतामा नअलमलिएर सिङ्गो राष्ट्रहितलाई सर्बोपरी ठानी एउटा सिङ्गो युगकै परिबर्तन को दिशातर्फ अगाडि बढ्न जरुरी छ।
अबको दिनमा प्रजातान्त्रिक समाजवाद होस् या बहुदलीय जनवाद या कुनै वैज्ञानिक समाजवाद जे सुकै भएपनि सबैभन्दा माथि राष्ट्र वाद छ भन्ने हेक्का राख्नु आवस्यक छ।
अनि मात्र देश परिवर्तनको बाटोतर्फ उन्मुख हुनेछ र बल्ल समृद्धि आउनेछ ।त्यसैले युग बुझेको ,संसार बुझेको युवा तिमी अहिले नै जुरमुराउनु आवश्यक छ। जनता,समाज र राष्ट्र हीत विपरितका त्यस्ता कुकृति,विकृति र कु कर्ताहरुको पत्तासाफ पार्न आवश्यक छ। अनिमात्र तिमीले आफ्नो परिभाषा पाउन सक्छौ ! होइन भने तिमी आफू युवावर्ग भन्ने परिभाषाबाट नजिक हुन बेकार छ।
नारायण पौडेल, प्यूठान