बुटवल(तिलोत्तमा) । तिलोत्तमा नगरस्तरीय दोस्रो मेयर कप खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुन्दर गुरुङ र लोक थापाको जोडीले जितेको छ । प्रतियोगितामा पदम थापा र थम्मन सारुको जोडीलाई उपविजेता बनाउँदै गुरुङ र थापाको जोडी प्रथम भएको हो । प्रथम हुने जोडीले नगद ५० हजार र दोस्रो हुनेले नगद ३० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा लालमणि पन्थी र अशोक प्रधान तथा मणि राना र विष्णु थापाको जोडी तृतीय हुँदै नगद १०/१० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने जीवन पराजुलीले नगद ५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुस्कार प्रदान गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले मानव स्वास्थ्यमा खेलको महत्वपूर्ण भूमिका रहेको बताउँदै खेललाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिए । खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको चर्चा गर्दै उनले खेलाडीको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएको बताए । नगरमा रहेका खेल मैदानहरुलाई स्तरोन्नती गर्ने कामलाई प्राथमिकतामा राखिएको बताउँदै उनले यस कार्यमा प्रदेश र संघीय सरकारसँग समन्वय गरेर अघि बढिने प्रष्टाए ।
तिलोत्तमा ब्याडमिण्टन क्लबको कवर्डहल तिलोत्तमा–६ दश नम्बरमा भएको प्रतियोगितामा ४६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा एकै साथ तीन वटा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा तिलोत्तमा नगरपालिकामा बसोबास भएका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्रारम्भमा नगर प्रमुख बासुदेव घिमिरे र क्लवका अध्यक्ष गोविन्द भुसालको जोडीबीच मैत्रीपूर्ण खेल भएको थियो ।
प्रतियोगितामा प्रमुख रेफ्री अर्जुन कार्की तथा सहायक रेफ्रीमा प्रमोद पहारी, ऋषि भण्डारी, सुदिप कंडेल रहेका थिए । गत वर्ष भएको प्रथम मेयर कप ब्याडमिण्टन प्रतियोगिताको उपाधि मनिककुमार राना र सुन्दर गुरुङको जोडीले प्राप्त गरेको थियो ।