राम बहादुर बिश्वकर्मा,प्युठान । गुजु्रक कपाल ,निन्याउरो अनुहार , खाली शरीर , शरीरमा सेतै दाद ,खाली खुट्टा संगै बजारलाई चौफेरो गर्ने उसको दैनिकी । दिन यसरी नै बित्छ । राति खुला आकाशलाई घर र भुइँलाई ओछ्यान सम्झेर निदाउने प्रयत्न गर्छ । उनीहरुको घर नै सडक हो, साँघुरो गल्ली हो । यस्तै अवस्थामा सडक–सडकमा भौतारीरहेको भेटिन्छन् बालकहरु । जसलाई हामी सडक बालक भन्छौं । तर समाजले उनीहरुलाई ‘खाते’ नामले चिन्छ ।कहाँ सुत्ने, के खाने कुनै टुंगो हुँदैन । गाँस, बास कपास सबैको नैसर्गिक अधिकार हो, तर उनीहरु अधिकारबाट वञ्चित छन् । विद्यालय जाने उमेरमा समूह–समूह बनाएर सडकमै प्लास्टिक, कागज सगाँल्दै बिताउँछन् उनीहरु । न त भविष्यको बारेमा उनीहरुलाई थाहा छ, न त वर्तमानको नै । बालबालिकाका लागि बनेका संघ संस्थाहरु पनि छन् । तर, त्यसका बारेमा उति चासो दिएको पाइँदैन ।
प्युठानमा सडक बालबालिका
सडकमा बालबालिकाहरु आउनुको एकमात्र कारण परिवार रहेको सरोकारवाला बताउछन् ।प्युठान जिल्ला नौबहिनी गाउँपालिका फोप्लिमा जन्मिएका १२ वर्षीय हिमाल परियार करिब ५ बर्ष देखि सडकमा आएको बताएका छन ।
परियारका अनुसार आमाले दोस्रो विवाह गरेको कारण बुबाको लापत्ता भए पछि ३ बर्षको उमेर देखि सडकमा आएको हुन् ।सुरुमा फोप्लिबाट बाहाने बजारमा आएर होटलमा काम गरि बसेको र सो ठाउँबाट सडक बालबालिकाहरुको सङ्गतमा आए पश्चात सडकमा बस्दै आएका छ्न। बिहान उठ्ने बित्तिकै डुल्ने , बजार क्षेत्रमा माग्ने बेलुका भएपछि गल्लीभित्र बस्ने उनको दैनिकी हो ।परियार कि आमाले आफुलाई एक बर्षको उमेरमै छाडेर दोस्रो बिबाह गरेर गए पछि उनी सडकमा आउन बाध्य भएको बताएका छन् । आँखा भरि आँसु बगाउँदै -“उनी भन्छ्न घर छ तर भत्किएको छ भएका सामान हराएका छ्न ,घर जाने मन लागेर के गर्ने।”हाल उनी बिजुवार, जुम्री क्षेत्रमा मागेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । त्यस्तै कयौं बालबालिकाहरु छन् जुन पारिवारिक साथै विभिन्न बाध्यताको कारण सडकमा आउन बाध्य भएका हुन्छन् ।
बाललबालिका सडकमा किन आउँछन् ?
सडकमा आउने बालबालिकाहरु प्रायः अन्तरजिल्लाका रहेका छन् । त्यसमा पनि बालबालिका सडकमा आउने कारण केही अभिभावकविहीन, बुबा आमाको दोस्रो विवाह, साथी सङ्गत, विपन्नताका कारण र पारिवारिक सम्बन्धमा नराम्रो भएको बाध्यताले गर्दा बालबालिकाहरु सडकमा आउने गर्छन् ।पारिवारिक हिंसा तथा झैझगडाले पनि बालबालिकाहरुमा नराम्रो असर पर्ने हुनाले बालबालिकाहरु घर छोडेर हिँड्ने गरेको भेटिन्छ । दिनप्रतिदिन बुबाआमामा बढ्दै गएको सम्बन्ध बिच्छेद पनि बालबालिकाहरु सडकमा आउने प्रमुख कारण बनेको प्युठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपति बताउँछन् । नगरपालिका स्वयंले हालै व्यवस्थित तरिकाले उनीहरुका लागि व्यवस्थापनका लागि पालिकाको केन्द्रबिन्दुमा ड्रपिङ सेन्टर तयार गरि उनिहर्लाई ब्यबस्थापन गरिने रणनीति तयार गरेका छौ । श्रेष्ठले भने जिल्लामा सडकमा फाट्टफुट्ट बालबालिका रहेको बुझिएको छ ,अनुगमन गरिने र तथ्यांक संकलन गर्नुका साथै अन्य विविध कार्यक्रम मार्फत उनीहरुको क्षमतावृद्धि गराउने योजना पनि तयार पारिएको छ । जब परिवारभित्र माया, ममता, स्नेह हराउँदै जान्छ तब यस्ता किसिमका घट्ना दिन प्रतिदिन हाम्रो समाजमा बढ्दै जान्छ।जिलामा बालबालिकाको क्षेत्रमा काम गर्ने सस्था कालिका बिकास केन्द्र प्युठान र सेभ द चिल्ड्रेनले पनि हाल सम्म कुनै तथ्यांक नभएको बताउँछन। कार्यक्रम संयोजक सरोज श्रेष्ठले भने’बालबालिकालाई श्रममा लगाउनुहुदैन भन्ने अभियान हाम्रो हो यस्तो पाइएमा बाल संरक्षण समितिमा जानकारी दिन्छौं ,यस्ता बालबालिकालाई श्रममुक्त गराउने मुख्य कुरा हो ,तथ्यांक संकलन गर्नुपर्ने हो तर गरिएको छैन श्रेष्ठले भने यस्तो समस्या जिल्लामा जटिल रुपमा आएको छैन।
सडक बालबालिकाहरुमा देखिने समस्या
कुनै पनि प्राणीलाई बाँच्नका लागि चाहिने तत्व भनेकै गाँस, बास र कपास हो । तर सडकमा बस्ने बालबालिकाहरु यी सबै कुराबाट टाढा हुन्छन् । त्यसैले भोक, प्यास मेटाउन उनीहरु पुकार साथै लागुऔषध जस्ता अन्य भोक नलाग्ने कुराको कुलतमा फस्छन् । त्यसकारण उनीहरुको स्वास्थ्य राम्रो हुँदैन सडक बालबालिकाहरुमा पेट दुख्ने, चक्कर लाग्ने, टाउँको दुख्ने, समस्या बढी नै मात्रामा देखिएको हुन्छ । उनीहरुले खाने खानामा समस्या हुनाले समस्याबाट गुज्रिरहेका हुन्छन् । उनीहरु न त जाडोमा न्यानो भएर बस्न पाउँछन्, न त पानी पर्ने समयमा ओतमा नै बस्न पाउँछन् ।त्यसैले सडक बालबालिकाहरु विभिन्न स्वास्थ्य समस्यामा पर्नुका साथै जटिल जीवन गुजार्दै बसेका छन् ।