प्यार अलि खाँन
चुनढुङ्गाखानीले दिनप्रतिदिन लुप्लुङ्गबस्तीलाई उच्च जोखिममा पारेको छ । पर्यावरणीय जोखिम कम गर्न खानी तथा भूगर्भ विभागले दिएको १३ बुँदे निर्देशन खानी पक्षले कार्यान्वयन नगरेको गाउँलेहरुको आरोप छ । ‘मापदण्ड विपरित खानीपक्षले उत्खनन् जारी राखेको छ ।’ लुप्लुङ्ग काठमाण्डौं साझा संम्पर्क मञ्चका अध्यक्ष अगुवा युवा एल.बि भण्डारीले भने, ‘लुप्लुङ्ग जोगाउन अब कुनै सम्झौता हुन दिदैनौँ ।’ खानीपक्षले मनपरि ढंगले उत्खनन् गरेको र सरोकारवाला पक्ष रमिते बनेकोमा भण्डारीले आक्रोस पोखे । सरकारकै निर्देशनका खिलाप सिमेन्ट कम्पनीले उत्खनन् जारी राख्दा समेत प्रशासन मुखदर्शक बनिरहेको र अनुगमन नगरेको गाँउलेहरु सुनाउँछन् ।
संघर्ष समितिको सहमती विपरित चुनढुङ्गगाखानीले एकलौटी रुपमा दादागीरी सैलीमा पुनः उत्खनन्को कार्य थालनी गरेको संघर्ष समितिको आरोप छ । स्थानियसंग गरेका सम्झौता कार्यान्वयनमा खानीपक्ष उदासिन देखिएको गाँउलेहरु बताउँछन् । खण्डर बनेको भूगोललाई पुन भू–उपयोग गर्न नमिल्ने गरि खानीपक्षले चुनढुङ्गा निकालिरहेको छ । बेन्च कटिङ्गको मापदण्ड खानीपक्षले पुरै अवज्ञा गरिरहेको गाँउलेहरु बताउँछन् । जिल्ला शिक्षा कार्यालय मार्फत ३२ लाखको बजेटमा स्थानिय लुप्लुङ्ग मा.वि.को भवन बनेकोमा खानीपक्ष आफुले बनाएको भनि झुठो प्रतिवेदन खानी तथा भूगर्भ विभागमा पठाएको भण्डारीले बताए ।
स्थानियको आन्दोलनका कारण १५ दिन खानी बन्द भएको थियो । प्रशासन तथा राजनीतिक दल सम्मीलित सर्वपक्षिय वैठकमा संर्घष समितिको सहमती विपरित ‘मापदण्ड पुरा गर्दै जाने, खानी उत्खनन् पनि गर्दै जाने’ त्रुटिपूर्ण निर्णय गरेकाले खानीपक्षले उक्त निर्णयको गलत एव नाजायज फाईदा लिईरहेको लुप्लुङ्ग बचाउ अभियानका अभियन्ता भरत केसीले बताए । ‘यहाँ सरकारले दिएको निर्देशनको पालना भएन ।’ केसीले भने, ‘अब हामी वडा केन्द्रित मात्र नभएर गाँउपालिकास्तरीय आन्दोलनको तयारीमा जुट्दैछौँ ।’ यही ढंगले खानी उत्खनन् हुँदै गए लुप्लुङ्ग जोगाउन नसकिने केसीको बुझाई छ । गाँउका केही टाठाबाठालाई कम्पनीले साथमा लिएर सोझासाझा जनतालाई भ्रममा पारेको केसी बताउँछन् । पछिल्लो अवस्थाकाबारे छिट्टै प्रदेश हुँदै केन्द्र सरकार तथा मन्त्रालयमा पुगी ध्यानाकर्षण गराईने केसीले बताए ।
केहि दिनभित्रै भारतमा रोजगारी गर्दै आएका गाँउलेहरु समेत बस्ती बचाउ अभियानमा आउन लागेको भण्डारीले जानकारी दिए । चुनढुङ्गाखानीको असरबारे पुनः जागरण अभियान चलाउने योजना रहेको छ । ‘करिब २ सय यूवाको सक्रिय टोली अभियानमा होमिने छ ।’ भण्डारीले हाम्रो एकतासंगको कुराकानीमा भने, ‘खानी बन्द गराएरै छाड्छौँ । हाम्रो प्यारो गाँउ प्राण भन्दा प्यारो छ ।’
‘आजसम्म बिनास छ, खै विकास हुने छाँटकाट देखिएन ।’ लुप्लुङ्गका स्थानिय ७५ वर्षिय रुद्रमणि भण्डारीले भने, ‘हामी त डाँडापारीका जुन हो,सन्ततीले दुःख पाउने भए ।’ बृद्ध भण्डारीले चुनढुङ्गाखानी आएपछि गाँउको विकास हुने सपना देखेका थिए तर परिस्थिति ठिक उल्टो हुँदै गएपछि अहिले उनमा निराशा एंव बस्तीको भविष्यबारे चिन्ता छाएको छ । ‘उतिबेला गाँउका ठूलाबडा टाठाबाठा भनाउँदाहरुले खानी चल्न दिने कुरा गरे ।’ भण्डारीले भने, ‘मैले उतिबेला पनि बिरोध गरेकै हुँ ।’ खानीका कारण अहिले गाई चराउने र घाँस काट्ने ठाँउ समेत हराउँदै गएकोमा उनले दुःखेसो पोखे । ‘जताततै खण्डर बन्न लाग्यो ।’ भण्डारीले भने, ‘यहि चालाले उत्खनन् हुँदै गए केहि वर्षमै गाँउनै सखाप हुन्छ ।’
खेतियोग्य जग्गा, खरबारी, कुलो, घर गोठहरुमा क्षति हुन नदिनका लागि तारजाली, ग्याविनवाल, होमपाईन राखी काम गर्नुपर्ने सम्झौता भएपनि खानीपक्षले प्रभावकारी काम नगरेको स्थानियको आरोप छ । खानी पक्षले लुप्लुङ्ग माविमा चारकोठे पक्की भवन, साविकको फोप्ली १ र २ को सेण्टरमा स्वास्थ्य केन्द्र स्थापना, बालविकास केन्द्रको भवन र गाँउसम्म मोटरबाटो पु¥याउन गरेको प्रतिबद्धता हालसम्म पुरा गर्न सकेको छैन ।
१५ वर्ष सम्मका लागि खानी उत्खनन्को स्वीकृति कम्पनीले पाएको बताईएको छ । यहाँबाट निकालिएको चुनढुङ्गा चकचकेमा डम्पीङ्ग गरि दाङ्गको कालाकाटे स्थित सिमेन्ट कम्पनीमा पु¥याईएको छ । खानी संचालनको दिर्घकालिन असर तथा जोखिम न्यूनिकरणबारे स्थानिय सरकारले कुनै चासो नदेखाएको प्रति स्थानियहरु दुःखी बनेका छन् ।