‘निरुको साइनो’ विमोचन

कामना डेली, बांके। पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार दोस्रो साइनो कृति ‘निरुको साइनो’ विमोचन भएको छ । प्रतिस्ठानले यस अघि विष्णु पादुकाको ‘साइनो’ कृति समेत  प्रकाशन गरिसकेको थियो।

भर्चुअल प्रविधिबाट विमोचन गरिएको कार्यक्रममा देश–विदेशका करिब १०० जनाजति साहित्यकारहरूको उपस्थिति रहेको थियो । साइनोकार निरन्जना चन्द निरु र पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले पुस्तकको आवरण देखाई गरिएको विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्रगतिशील लेखक संघका वर्तमान अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरीले कविताको लघुतम विधाका रुपमा आएको साइनोको सृजना परम्परा एक वर्ष पुरा नहुँदै पूर्णिमाबाट दुईवटा साइनोका पुस्तक प्रकाशित हुनु अत्यन्त खुसीको कुरा रहेको बताए । उनले २४ अक्षरको तीन पङ्तिको संरचनामा कसिलो गरी भाव व्यक्त गरिने साइनो निकै लोकप्रिय विधाका रुपमा मौलाएको बताए । पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै समीक्षक ईश्वरीप्रसाद रिजालले ‘निरुको साइनो’ कृतिका विषवस्तुका साथै शक्ति र सीमामाथि प्रकाश पारेका थिए ।
साइनो पहिलो पङ्क्तिमा सात अक्षर, दोस्रोमा आठ अक्षर र तेस्रोमा नौ अक्षर गरी जम्मा २४ अक्षरमा संरचित हुने कविता हो । यसको आरम्भ प्रा.छायादत्त न्यौपाने ‘बगर’ २०७६ साउन १६ गते पहिलो साइनो लेखेर गरेका थिए । कार्यक्रममा बोल्दै बगरले एक वर्षमै साइनोले अन्तर्राष्ट्रिय छवि बनाउनु ज्यादै महत्वपूर्ण कुरा भएको बताउनु भयो । साइनो अभियन्ता बालकुमार क्षेत्री, केशव ज्ञवाली, खेमलाल पोखरेल आदि वक्ताहरुले साइनोका सैद्धान्तिक र व्यवहारिक पक्षहरूमाथि चर्चा गर्दै सहभागिहरूले उठाएका जिज्ञासाहरूको सम्बोधन गरेका थिए । साइनोकार निरन्जना चन्दले आयोजक र सहभागीप्रति आभार व्यक्त गर्दै आफ्ना आधा दर्जन जति साइनो सुनाएकी थिइन् ।
सँस्थाका कोषाध्यक्ष बद्री ढकालको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सञ्चालन सचिव पुष्कर रिजालले गरेका थिए । कार्यक्रममा देश विदेशका साइनो सर्जकहरूका मिठा साइनोहरू समेत वाचन गरिएको थियो ।

सहभागीहरुलाई धन्यवाद दिँदै पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले सहित्यका सबै विधाहरूको विकासलाई आफूहरुले उत्तिकै महत्व दिँदै आएको सन्दर्भमा विश्व साहित्यकै नवीनतम विधा साइनोका पहिलो र दोस्रो कृति आफूहरूले प्रकाशन गर्न पाउनु निकै गौरवको विषय रहेको र यसले ऐतिहासिक महत्व समेत राख्ने बताए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.