बुटवल । सत्तारूढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई पराजित गर्दै शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को अध्यक्षमा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट उम्मेदवार खिमलाल पाण्डे विजयी भएका छन्। चौथो अधिवेशनबाट उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले हराएका हुन्।
पाण्डेले ३९६ मत प्राप्त गर्दा खरेलले २३४ मत पाए। राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार टिकादेवी आलेले ३९ मत ल्याइन्। यसअघि उपाध्यक्ष रहेका पाण्डेलाई माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर समर्थन दिएको थियो भने एमाले–कांग्रेस गठबन्धनभित्रका असन्तुष्ट समूहले पनि आन्तरिक समर्थन जनाएका थिए। निर्वाचनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री लिला गिरी, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे र तिलोत्तमाका मेयर रामकृष्ण खाँणले पनि मतदान गरेका थिए। ७७५ मतदातामध्ये ६६१ जनाले मतदान गरेका थिए। उपाध्यक्षमा कांग्रेसका मिनप्रसाद देवकोटा ३७८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी गठबन्धनकै बागी लेखबहादुर खड्काले १३४ र राष्ट्रिय जनमुक्ति पार्टीकी चन्दा थापाले १०९ मत प्राप्त गरिन्।
सचिव पदमा कांग्रेसबाट बागी बनेका विदुर केसीले ३७९ मत ल्याएर सत्ता गठबन्धनकी उम्मेदवार कमला पाण्डेलाई पराजित गरे। पाण्डेले १८८ र हिरामति थापाले ५७ मत प्राप्त गरे।
कोषाध्यक्षमा एमालेका मनिराम भट्टराई ३८५ मतसहित निर्वाचित भए। माओवादी केन्द्रका सौरभ भुसालले १७५ र उदलसिंह थापाले ६३ मत पाए। लेखा समिति सदस्यमा स्वतन्त्र उम्मेदवार सन्दीप भट्टराई (३१३ मत) र गठबन्धनका विष्णुप्रसाद सुवेदी (२११ मत) विजयी भए। मिठुमाया पौडेल, इन्दु थापा मगर, शंकर पाण्डे र सीता श्रीस पराजित भए। लेखा समिति संयोजकमा कांग्रेसका प्रदीप पराजुली निर्विरोध निर्वाचित भए। कार्यसमिति सदस्यमा गठबन्धनबाट विन्दु ढकाल, लक्ष्मण मल्ल, सरस्वती बराल, शंकर भण्डारी र पार्वती क्षेत्री निर्वाचित भए। दुई अन्य सदस्यमा बागी उम्मेदवार राममाया पौडेल र माओवादी केन्द्रकी ज्योतिमाया थापा विजयी भए।
लुम्बिनी प्रदेशकै ठूलो वन वाटिका २०६२ सालदेखि शंकरनगर सामुदायिक वन क्षेत्रमा सञ्चालनमा छ, जहाँ वार्षिक पाँच लाखभन्दा बढी पर्यटक आउने गरेका छन्।
स्थानीय बुद्धिजीवी बाला कुँवरका अनुसार यो परिणामले उपभोक्ता संस्थामा पार्टीगत भागबण्डाको विरोध जनमतले स्पष्ट पारेको छ। यसअघि शंकरनगर खानेपानीको निर्वाचनमा पनि बागी उम्मेदवारले गठबन्धनका आधिकारिक उम्मेदवारलाई पराजित गरेका थिए।
एमाले–कांग्रेस गठबन्धन पराजित, वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी
एमाले–कांग्रेस गठबन्धन पराजित, वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी

Advertisement
तपाईको प्रतिक्रिया