प्युठान । प्युठानमा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा प्युठानमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।
आर्थिक वर्ष २०७९/८० मा ३३ दुर्घटनामा २८ जनाको मृत्यु हुँदा ५८ जना घाईते भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा भने दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमि आएको छ । गत आवमा २८ सवारी दुर्घटना हुँदा १४ जनाको ज्यान गएको र १५ जना घाईते भएको प्युठान प्रहरीले बताएको छ।
पछिल्लो वर्षको तुलनामा गत आबमा दुर्घटना र त्यसबाट मृत्यु हुनेको सङ्ख्यामा करिब ५० प्रतिशतले कमि आएको प्युठान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक(डीएसपी) इश्वर थापाले जानकारी दिए ।
ट्राफिक सचेतना कार्यक्रम,प्रहरी कारबाही र अनुगमनको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षतीमा कमी ल्याउन सकिएको डीएसपी थापाको दाबी छ ।
चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको उनले सुनाए।
ट्राफिक कार्यक्रम र राजस्वमा वृद्धि
जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानले आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक बर्ष २०८०/०८१ मा ३५.५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा रु ४६ लाख ५२ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन भएकोमा गत वर्ष जिल्ला ट्राफिकले ६३ लाख ७ हजार ५ सय रुपैया सङ्कलन गर्न सफल भएको हो ।
ट्राफिक प्रहरीले जिल्लामा सचेतनामुलक कार्यक्रम समेत बढाएको छ। प्रहरीले दिएको तथ्याकं अनुसार २०७९/०८० मा ५ सय ५८ कार्यक्रम गरिएकोमा गत वर्ष एक हजार २४ वटा कार्यक्रम सम्पन्न गरिएको छ। आव २०७९/०८०को तुलनामा गत बर्ष ७०.६६ प्रतिशतले कार्यक्रम वृद्धि भएको तथ्याकंले बताउछ।