काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व)को त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसमेत समेटेर उक्त रकम स्वीकृत गरेको हो। रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएपछि गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनका दुवै हात काट्नुपर्ने अवस्था आएको थियो।
दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार १० लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति सञ्चालक समितिबाट स्वीकृत हुने व्यवस्था छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कुनै पनि रकमले मानवीय पीडाको क्षतिपूर्ति गर्न नसक्ने भए पनि पीडित परिवारलाई केही राहत पुग्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले बढ्दो विद्युतीय दुर्घटना न्यूनीकरणका लागि विद्युत् संरचनाको नियमित मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी र जनचेतना अभिवृद्धिमा जोड दिएका छन्।
विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
Advertisement
तपाईको प्रतिक्रिया