थम्मन थापा असोज, बागलुङ। मुस्ताङको अधिकांश भुभागमा टेलिकमको सेवा डाटा र फाईबरले ईन्टरनेटमा सहज भएको छ।
समुन्द्री सतह देखि २ हजार ८ सय देखि ४ हजार ६ सय मिटर उचाई सम्म अवस्थित यस जिल्लामा सञ्चारको समेत सुविधा पुगेको छ ।
नेपाल टेलिकमले त्यहाँका स्थानिय बासिन्दा, त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर टेलिकमको भ्वाईस तथा डाटा सर्भिस उपलब्ध गराएको छ । वि.सं २०६०/०६१ तिर टेलिकमले जिल्लाका केहि स्थानमा भि स्याट प्रविधिको टुजी मोवाईल सेवा पुराएको थियो । उक्त प्रविधि मार्फत सिमित मानिसले भ्वाईस सेवा उपयोग गर्न पाएका थिए । सिमित कल सुविधा रहेको उक्त सेवालाई टेलिकमले वि. सं २०७४/०७५ साल देखि विस्थापन गरि अहिले जिल्लाका अधिकांश भुभागमा माईक्रोवेभ रेडियो लिङ्क मार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको नेपाल टेलिकमका वरिष्ठ ईन्जिनियर तथा बागलुङका कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए । “भौगोलिक विकटता, सडकको पहुँच नहुँदा नहुँदै निकै मेहनत र परिश्रमका साथ अग्ला डाँडाहरुमा रिपिटर टावर रेडियो लिङ्क निर्माण गरि प्राविधिक हिसाबले उपयुक्त पर्ने स्थानमा बिटियस टावर स्थापना गरेर सेवा दिईरहेका छौं प्रमुख शर्माले भनें । अहिलेअधिकांश टावरहरु सोलार सेट मार्फत सञ्चालनमा रहेको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।सडक देखि ३/४ घण्टाको उकालो घोडेटो र गोरेटो बाटोमा मानिस, घोडा, खच्चड मार्फत टेलिकमले उपकरणहरु त्यहाँ पुराएको थियो।
जनप्रतिनिधी र स्थानियबासीले निकै उत्साहजनक सहभागिता जनाउँदै टेलिकमलाई सेवा सञ्चालनमा निरन्तर सहयोग गर्दै आईरहेको लोघेकेर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए । मुस्ताङ जिल्लामा मध्यान्ह देखि निकै हावा चल्ने गर्दछ अग्ला स्थान, डाँडाकाँडामा हावा चल्दा टावरमा चढेर काम गर्न निकै कठिन हुने गरेता पनि टेलिकमले निरन्तर सेवा प्रदान गरेकोमा आफुहरु खुसी रहेको अध्यक्ष विष्टको भनाई छ। टेलिकमले गुणस्तरिय भ्वाईस तथा (ईन्टरनेट) डाटा सर्भिस उपलब्ध गराउने उद्येश्यले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार देखि मुस्ताङको सदरमुकाम जोसमसोम हुँदै प्रसिद्व धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिरसम्म फाईबर लाईन समेत बिछ्याएको छ । अहिले चिबाङ, छेयरो, मार्फा, स्याङ, जोमसोम बजार, ठिमी, कैस्याङ क्याम्प, ढाल्के, कागबेनी, खिंगा, झारकोट, रानीपौवा बजार र मुक्तिनाथ मन्दिरमा फाईबर टु द होम मार्फत उच्च गतिको ईन्टरनेट वाईफाई सेवा समेत उपलब्ध छ । फाईबर तार मार्फत सेवा प्रवाह हुँदा टेलिकमको नमस्ते मोवाईलमा गुणस्तरिय भ्वाईस र डाटा सर्भिस उपलब्ध हुने गरेको छ ।