सञ्जय रिजाल। समाजलाई निर्देशन गर्ने प्रणाली राजनीति हो।हामी मानवको ऐतिहासिक सांस्कृतिक अवस्था हे¥यौ भने मानिसका सम्वन्धहरुलाई सहयोग गर्न संस्कृति निर्माण भयो । समूहगत रुपमा घुमन्ते अवस्थामा रहेको मानव जातीको एक ठाउँमा स्थिर भएर रहन थालेपछि परिवारको संख्या बढ्न थाल्यो । परिवारको व्यवस्थापनको लागि खानपिनदेखि लिएर बसोवाससम्मको चाँजोपाजो मिलाउनुपर्ने भयो । एकै ठाउँमा बस्दा त्यहाँ कुन कुन खानेकुरा पाइन्छ । कुन कुन जनावरलाई रत्याएर त्यसको प्रयोगबाट खेतीपाती गर्न सकिन्छ गर्न सकिन्छ ? भन्ने कुरामा मानिसले अनुसन्धान तथा प्रयोग गर्न थाल्यो । हरेक कुराको प्रयोग र अनुसन्धानबाट विभिन्न प्रविधिहरुको मानिसले प्रयोग गर्दै आयो । त्यही प्रविधिको प्रयोगले मानिसको दैनिक जीवनलाई भौतिक रुपमा सजिलो बनायो । मानिस यस्तो प्राणी हो भौतिक रुपले मात्र सन्तुष्ट भएर पुग्दैन । उसलाई आध्यात्मिक सुख वा खुशी पनि चाहिन्छ । एउटा मानिसलाई काम गर्न प्रोत्साहित गर्ने कुरा भनेको उसको त्यो काम प्रतिको भोक हो । त्यो भोक जगाउन भौतिक सुख भन्दा पनि आध्यात्मिक चिन्तनले बढि सहयोग गर्छ ।
दर्शनशास्त्री माक्र्सले भौतिक पदार्थलाई जोड दिएर कम्युनिष्ट दर्शनको विकासमा महत्वपूर्ण योगदान दिए । समाज विकास क्रमलाई भौतिक कुरासँग जोडे । भौतिक विकास भनेकै विकास हो र यही आधारमा राजनैतिक शासन प्रणालीको विकास हुने माक्र्सको तर्क छ । तर माक्र्सले भनेजस्तो अहिले समाज विकास र राजनैतिक शासन प्रणालीबीच त्यति तालमेल देखिदैन । यसो हुनुमा कम्युनिष्ट शासकहरुले माक्र्सको विचारलाई सही रुपमा लागू वा प्रयोग गर्न सकेनन् वा उनीहरुको शासन प्रणालीमा भौतिक सुख हावी भयो । नागरिक र शासकबीचको दुरी बढ्न गयो । नागरिकहरुले नै कम्युनिष्ट शासन प्रणालीप्रति अविश्वास गर्न थाले । त्यसो भएको कारण सोभियत रुसमा कम्युनिष्ट शासनको पतन भयो । अहिले संसारभर कम्युनिष्ट शासन प्रणाली कमजोर तथा धराशायी बन्दै गइरहेको छ ।
भौतिक सुखको सबैभन्दा खतरनाक कुरा भनेको व्यक्तिमा अहंकार बढाइदिन्छ । हुनतः अध्यात्मिक शक्तिले पनि अहंकार त नबढाइदिने होइन । हामीले हाम्रो धार्मीक ग्रन्थ रामायणलाई हे¥यौ भने रावण आध्यात्मिक शक्तिको प्रयोगबाट भौतिक सुख प्राप्त गर्न चाहन्थ्यो । उसले आप्mनो राज्यको वैभव देखाउन आप्mनो ताकतलाई गलत ठाउँमा प्रयोग ग¥यो । उसको विनाश भनेकै भौतिक सुखको भोक र त्यसको अहंकार नै थियो । तर गौतम बुद्ध राजपरिवारमा राजकुमारको रुपमा जन्मे पनि उनले कहिल्यै भौतिक सुखको लोभ गरेनन् । राज्यको शक्ति, बैभवलाई लत्याएर भिक्षु बने । अध्यात्मको खोजी गरे । अहिले गौतम बुद्धको सन्देश अजर अमर रुपमा रहेको छ ।
भौतिक र अध्यात्म दुवै कुराको मानिस दास हो । यी दुवै कुरा मानिसको चेतन वा अर्धचेतन मनमा व्याप्त छ । मानिसलाई भौतिक सुख पनि चाहिएको छ र अध्यात्म पनि । विभिन्न बैज्ञानिकहरुले भौतिक सुखको लागि विभिन्न प्रविधिको आविष्कार गरे । जुन आविष्कारले मानव जीवन सहज बनाइदिएको छ । त्यस्तै गौतम बुद्ध जस्ता दर्शनशास्त्रीहरुले अध्यात्म दर्शन विकास गरे । अहिंशा तथा मानिसलाई अनुशासनमा राख्न अध्यात्म शक्तिको विकास गरे । समाज विकासमा बैज्ञानिकको जस्तै गौतम बुद्ध जस्ता धार्मिक प्रवर्तकहरुको महत्वपूर्ण भूमिका छ ।भौतिक सुख प्राप्त गर्न जति सहज छ त्यसको तुलनामा आध्यात्मिक सुख प्राप्त गर्न कठिन छ । भौतिक सुखले हाम्रा जनइन्द्रियलाई प्रभाव पार्छ भने अध्यात्म सुखले हाम्रो मुटु र दिमागलाई ।
पछिल्लो समय समाजमा भ्रष्टाचार व्याप्त छ । समाजमा भएको भ्रष्टाचार राजनीतिदेखि लिएर प्रशासन यन्त्र हुँदै समाजका सबै अंगमा जरो गाडेको बताइन्छ । यस हुनुमा पनि भौतिक सुखको ठूलो भूमिका छ । त्यसरी भ्रष्टाचार गरेको पैसा मानिसले के काममा प्रयोग गर्छ ? त्यो बारेमा सोधखोज गर्नुपर्ने हुन्छ । पहिले राजनैतिक तहमा हुने भ्रष्टाचारको कुरा गरौं – हामीकहाँ आवधिक रुपमा निर्वाचन हुने गर्दछ । त्यो आवधिक रुपमा जसले धेरै पैसा खर्च गर्न सक्यो उ निर्वाचित हुने सम्भावना बढि छ । पैसाले मतदाताहरु किन्न राजनैतिक दलको नेताले भ्रष्टाचार गर्छ । राजनैतिक दललाई निर्वाचनको बेला प्रशस्त पैसा चाहिन्छ । त्यो पैसाको उसले जोहो गर्न सक्यो भने मात्र उ राजनीतिमा टिकिराख्ने सम्भावना हुन्छ । यदि उसले त्यसो गर्न सकेन भने उ राजनीतिमा टिक्नै सक्दैन । मतदातालाई क्षणिक भौतिक सुख दियो भने पाँच वर्ष लुट्न सकिन्छ भन्ने राजनैतिक दलको नेताको व्यवसायीक सोच विकास हुन थालेको छ । भौतिक सम्पति धेरै भएको व्यक्ति समाजमा पूज्य छ । उसले त्यो सम्पत्ति कसरी कमायो भन्ने सोधखोज गरिदैन । यसले गर्दा सबैभन्दा छिटो पैसा कमाउन भ्रष्टाचार सजिलो तरिका बनेको छ । यसतर्फ भ्रष्टाचार गर्ने र भ्रष्टाचारतर्फ आकर्षित हुनेको ठूलै संख्या अहिले देख्न सकिन्छ ।
मुलुक संघीय संरचनामा गएपछि धेरैलाई लागेको थियो अब सुशासन कायम हुन्छ भन्ने तर त्यस्तो अवस्था देखिएन । यसो हुनुमा पनि राजनीतिकर्मीहरु आप्mनो ठाउँको विकास भन्दा पनि भौतिक सुखमा रमाएको देख्न सकिन्छ । अहिले भ्रष्टाचार गर्ने पात्रहरु वृद्धि भएका छन् । सबैभन्दा जनता नजिक भएको स्थानीय सरकारमा पनि भ्रष्टाचार मौलाएको समाचारहरु प्रकाशमा आइरहेका छन् । स्थानीय तहहरुको सवारी साधन मोह । मुलुक संघीय संरचनामा गइसकेपछि इतिहासमै पहिलोपटक धेरै यातायातका सवारी साधनहरु खरीद भएका छन् । नागरिकलाई सेवा प्रवाहको लागि सवारी साधन आवश्यक पनि होला । तर सवारी साधन खरीद गर्न जस्तै त्यो स्थानीय तहमा सबैभन्दा अप्ठेरो अवस्थमा रहेका जनतालाई कति तहले सहयोग गर्न सके त्यो प्रमुख कुरा हो । स्थानीय तहमा देखिएका भ्रष्टाचारजन्य गतिविधिले संघीयताको समेत उपहास गर्न थालेको देखिन्छ ।
स्थानीय तहहरु अहिले आप्mनो सुविधा बढाउन प्रदेश सरकारमा लविङ्ग गरिराखेका छन् । प्रदेश सरकारले पनि कानुन बनाएर स्थानीय तह, जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सेवा सुविधा बढाइरहेका छन् । उनीहरुले आप्mनो भौतिक सुःखको लागि जस्तै जनताको सुःखको लागि पनि काम गर्नुपर्ने हो त्यसो हुन सकिरहेको छैन । राजनैतिक दलबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका पदाधिकारीहरु नै भ्रष्टाचारमा संलग्न हुन थालेपछि त्यसको जनस्तरसम्म पनि नकारात्मक प्रभाव पर्न थालेको छ । भ्रष्टाचारको सिको उपभोक्ता समितिमा पनि भइरहेको छ । सरकारी कामलाई नागरिकहरुले सहयोग गर्ने स्थिति सिर्जना हुन सकिरहेको छैन । योजनाहरुमा भ्रष्टाचारजन्य क्रियाकलाप बढ्न थालेपछि उमभोक्ताहरुको चासो योजनाहरुमा पर्न छाडेको छ । यसले गर्दा बल्लतल्ल हुने विकास निर्माणका कामहरु पनि गुणस्तरीय हुन सकिरहेका छैनन् ।
भ्रष्टाचार र भौतिक सुखबीचमा नजिकको सम्वन्ध छ । भौतिक सुख भित्र शक्तिको सुख पनि छ । राजनीतिमा धेरै शक्ति हुन्छ । विभिन्न क्षेत्रलाई नियन्त्रण गर्न सकिने । जुन देशमा कानुन कमजोर छ नेता बलिया छन् त्यो देशमा समतामूलक विकास हुन सक्दैन । विकास निश्चित प्रणालीमा भन्दा पनि नेताको तजविजमा हुने गरेको छ । विकासमा आग्रह, पूर्वाग्रह र दुराग्रह देखिने गरेको छ । गलत गर्ने व्यक्तिहरु केही रकम खर्च गरे तथा कुनै दलको नजिक पुगे सजायबाट उन्मुक्ति हुने अवस्था छ । शासन प्रणालीमा मात्र होइन विकासमा समेत अराजकता देखिन थालेको छ । यसो गर्न सक्ने क्षमता राख्नेहरु भौतिक सुखमा रमाइरहेका छन् भने । यसो गर्न नसक्नेहरु पनि कुनै दिन मैले त्यो सुख प्राप्त गर्न सक्छु भन्ने आसै आसमा त्यस्तै समाजमा रमाइरहेका छन् ।
राजनैतिक दलमा अहिले नेतृत्व छनौट विचार सिद्धान्त, कर्मका आधारमा भन्दा भौतिक शक्तिका आधारमा छनौट हुने गरेको देखिन्छ । दलहरुले लोकतन्त्रको जति दुहाइ दिए पनि आप्mनै दलभित्र समेत लोकतन्त्रको अभ्यास गर्न सकेका छैनन् । व्यक्तिगत रुपमा शक्ति हत्याएर निरंकुश शैलीले शासन गर्न लोभिएका छन् । नेताहरुको भौतिक सुखलाई अहिले सचेत नागरिकहरु नियन्त्रण गर्न प्रयत्न गरिरहेका छन् सामाजिक सञ्जालको माध्यमबाटै भए पनि । त्यो सामाजिक सञ्जाल भौतिक सुख प्राप्त गर्न नेतालाई बाधक बनेपछि त्यसलाई पनि नियन्त्रण गर्ने दाउमा छन् ती नेताहरु ।
अहिले राजनैतिक नेतृत्व मात्र होइन व्यापारी, उद्योगी, ठकेदार सबै व्यवसायीक मर्यादा कायम राख्ने भन्दा पनि क्षणिक रुपमा आम्दानी गरेर भौतिक सुख प्राप्त गर्नेमा छन् । समाजमा उच्च हैसियत बनाएकाहरु नै यसरी गलतै काम गरेर भए पनि भौतिक सुख प्राप्त गर्न थाले पछि आम रुपमा भ्रष्टाचारको नकारात्मक सन्देश जान थालेको छ । यो निकै चिन्ताको विषयमा हो । अहिले समाजको तल्लो तहसम्म पनि भ्रष्टाचारको जालो फिजिइसकेको छ । यो जालोलाई तोड्नको लागि भौतिक हैन नागरिकलाई आध्यात्मिक तथा नैतिक शिक्षाको खाँचो छ।हामीले समाजलाई आध्यात्मिक वा नैतिक बनाउन सक्यौ भने त्यहीबाट उत्पादन हुने राजनीतिक प्रणालीलाई द्रव्य होइन आदर्शमा स्थापित गर्न सक्छौं ।
लेखक प्युठानबाट प्रकाशीत हुँदै आएको माण्डबी राष्टीय साप्ताहिकका प्रकाशक/सम्पादक हुनुहुन्छ।
आदर्शबाट द्रव्य बन्दै राजनीति
आदर्शबाट द्रव्य बन्दै राजनीति
Advertisement
तपाईको प्रतिक्रिया