सहित्यमा साइनो र यसका स्वरहरू

साइनोको शास्त्रीय सन्दर्भ
भोलिको बिहानीमा
उदाउँछ रातो घाम
मिठो सपना देख्दै गर ! (लेखक स्वयम्)
मान्छे सिर्जनशील प्राणी भएकाले उसको मन मस्तिष्कमा के के चलिरहन्छ । के के उम्रिरहन्छ । मानव सिर्जनाहरू अनादि कालदेखि हुँदै आएका हुन् । यिनै सिर्जनाले दुनियाँलाई आनन्द दिई हँसाउने सामथ्र्य राख्छन् । मानव सिर्जनाका विविध आयाममध्ये साहित्य सबैभन्दा लोकप्रिय रहेको छ । सत्यम्, शिवम् र सुन्दरम्को पवित्र भावले सिर्जना गरिने साहित्यका पनि अनेक प्रयोजन र प्रभेदहरू रहेका छन् । पूर्वीय साहित्यका महान् चिन्तक भामहका विचारमा साहित्यको मूल प्रयोजन धर्म, अर्थ, काम र मोक्षको प्राप्ति हो । साहित्यको प्रयोजनका विषयमा चिन्तन गर्ने पछिल्ला पूर्वीय चिन्तकहरू यसै सूत्रलाई आधार बनाई थप कुराहरूको खोजीमा देखिन्छन् । पूर्वमा समग्र साहित्यलाई जनाउन ‘काव्य’ शब्द प्रयुक्त भएको पाइन्छ । काव्य चिन्तनको पूर्वीय परम्परा पश्चिमा परम्पराभन्दा प्राचीन र निकै संवृद्ध रहेको छ ।

विश्वकै काव्य सिर्जनाको परम्परा निश्चय नै काव्य चिन्तन परम्पराभन्दा पुरानो छ । विश्व साहित्यका मूल विधाहरू कविता, आख्यान नाटक र निबन्ध गरी चार वटा मानिएका छन् ।

संस्कृत साहित्यको अध्ययन गर्दा कविताका पनि अनेकन भेदोपभेद रहेका छन् । दुई पङ्क्तिको लघुतम संरचनादेखि लाखौँ श्लोकका ‘आर्ष महाकाव्य’ सम्मको संरचनामा पूर्वका सर्जकहरूले कविता लेखेका र तिनका विषयमा सौन्दर्य शास्त्रीय आधारहरू समेत प्रस्तुत गरेका छन् । नेपाली साहित्यको जग मूलतः संस्कृत साहित्यमै अडेको देखिन्छ । पछिल्लो समयमा हिन्दी र पश्चिमा साहित्यका प्रभाव ग्रहण गर्दै आफ्नो मौलिकता सहित नेपाली साहित्य समुन्नतिको दिशामा अगाडि बढेको देखिन्छ । यसैक्रममा कविताको नवीन विधाका रूपमा नेपाली भूमिबाट साइनो सिर्जना हुन थालेको पाइन्छ । यसका केही सैद्धान्तिक आधारहरू प्रस्तुत गरिएको भए पनि थप अध्ययन र स्थापनाहरूको आवश्यकता रहेको छ ।
वि.सं.२०७६ साउन १६ गते कवि छायादत्त न्यौपाने ‘बगर’ले साइनो शीर्षक दिएर त्रिपदी संरचनाको लघुतम कविता प्रस्तुत गरे । साइनोको आधारभूत संरचनाका रहने तीन पङ्क्ति मध्ये पहिलोमा सात अक्षर, दोस्रोमा आठ अक्षर र तेस्रोमा नौ अक्षर रहने गर्दछन् । यसरी जम्मा २४ अक्षरको लघुतम तर पूर्ण रचनाका रूपमा साइनो रहेको छ ।  साइनोमा भाषा वैज्ञानिक हिसाबले अक्षरलाई लिने र लेख्यवर्णलाई नै अक्षर मानेर प्रयोग गर्ने दुवै किसिमको प्रचलन विद्यमान रहेकाले सुरुवाती चरणमा यसको द्विविधा कायमै छ । यसमा शास्त्रीय लय अन्तर्गत विषम मात्रिक लयको निकटता रहेको देखिए पनि संस्कृतको शास्त्रीय लय परम्परालाई स्पष्ट आधार बनाएको भने पाइँदैन । छायादत्त न्यौपाने बगरको पहिलो साइनो यसप्रकार रहेको छः

मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पसिना । (छायादत्त न्यौपाने बगर)

यही साइनो नै साइनो इतिहासको पहिलो बिन्दु मानिएको छ । साइनोलाई पूर्वीय कविताको कुन भेद नजिक मान्नु उपयुक्त हुन्छ ? यो कुरा अनुसन्धान गरी सैद्धान्तिक आधारका रूपमा प्रस्तुत गर्न सके साइनोको स्थापनामा महत्वपूर्ण उपलब्धि बन्न सक्छ । साइनोको विकासमा बगर सहित हजारौँ स्रष्टा लागिपरेको देखिन्छ । सिर्जन परम्पराको एक वर्ष नपुग्दै कोहलपुरको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानबाट विष्णु पादुकाको ‘साइनो’ र निरन्जना चन्दको ‘निरुको साइनो’ गरी दुई कृति प्रकाशित भइसकेका छन् । त्यसैगरी साइनोका दुई कृति– साइनो वाङ्मय प्रतिष्ठानको संयुक्त साइनो संग्रह ‘साइनो सारथी’ र कवि हरिप्रसाद चौलागाईको ‘ब्रह्माण्ड साइनो’ साउन १६ गते विमोचनको तयारीमा रहेका छन् ।
साइनो भावसघन कविता हो । थोरै शब्द र अक्षरमा उठान गरिएको भावलाई चोटिलो किसिमले प्रक्षेपण गर्नुमै साइनोको मूल शक्ति देखिन्छ । साइनो सर्जकहरूले अभिधामा प्रस्तुत गरेका साइनोहरूभन्दा  लाक्षणिक र ध्वन्यार्थक साइनोहरू निकै शक्तिशाली रहेका छन् । साइनोमा बिम्ब, प्रतीक र मिथकहरूको प्रयोग निकै उपयुक्त मानिएको छ । विशाल भावसन्दर्भलाई सीमित शब्दमा समेटी सार प्रस्तुत गर्न यी प्रविधि निकै प्रभावकारी हुने गर्दछन् । साइनोलाई जति सक्यो रसिलो र कसिलो बनाई प्रस्तुत गर्नुपर्दछ । साइनोमा सबै विषयक्षेत्रलाई महत्व दिई लेखिएको पाइन्छ ।
साइनोका स्वरहरू

समकालीन नेपाली साइनोको मूल स्वर राष्ट्रियता, विकासको चाहना, सुशासनको अपेक्षा, प्रकृतिका विविध रूपको चित्रण, न्यायको खोजी आदि रहेको पाइन्छ । प्रकृति र जीवनको सम्बन्ध केलाउँदै स्वाधीनता र आत्मगौरवको खोजी गरिएको पहिलो साइनो कृतिकार विष्णु पादुकाको साइनो संग्रहमा २९९ वटा साइनो सङ्ग्रहित छन् ।

हेरौँ उनको एउटा साइनोः

बुझाएर घरको
उज्यालो जूनको खोज्न
अन्तरिक्ष नभौँतारिनु (साइनो, पृष्ठः १)

साइनो विधाको पहिलो कृति पादुकाको साइनोमा प्रकृति, दर्शन, समाज मनोविज्ञान जस्ता विविध विषय सन्दर्भहरूलाई उठाइएको छ । देशभक्ति र नेपालको स्वाधीनताको रक्षालाई प्रमुख रूपमा अगाडि सारिएको छ । प्राकृतिक विषयका यिनका साइनोहरू जीवनदर्शनका गहनतम सत्यको उद्घाटन गर्न खोज्दछन् ः
भावनाको भूगोल
आकाशको आयतन
मेटाउँछु लक्ष्मण रेखा (ऐ. २४)
साइनोका सूत्रधार छायादत्त न्यौपानेका साइनोमा इमान, सदाचार, सहयोग र मानवीय आस्थाको खोजी गरिएको पाइन्छ । भौतिकवादी व्यक्तिमुखी चरित्रप्रति बगर असन्तुष्ट रहेका छन् ः

स्वच्छ सक्रिय मन
कर्ममा रम्छ जीवन
व्यवहार माग्छ इमान ।

साइनो अभियन्ता बालकुमार क्षेत्रीका साइनोमा तीव्र प्रकृतिचेत र आशावादी स्वर पाइन्छ । उनी साइनो वाङ्मय प्रतिष्ठान, साइनो संसार पेज जस्ता माध्यमबाट साइनोको संस्थागत विकासमा लागिपरेको देखिन्छ ।

क्षेत्रीको साइनो हेरौँ ः
दिवाकरको लाली
प्रकृति झुम्यो नशामा
मनमा खुसी छिर्न देऊ ।
भारतको मिचाहा व्यवहारबाट उत्पन्न नेपाल भारत सीमाविवाद र चिसिँदै गएको सम्बन्धका विषयमा महानन्द ढकालको एउटा साइनो यस्तो छ ः

रोटीबेटी सम्बन्ध
कालापानी लिपुलेक
असल छिमेकी उदाङ्ग ।

साइनो सर्जक पाल्पाका टंकप्रसाद पन्थका साइनोमा भौतिकवादी स्वार्थकेन्द्रित मानवीय आचरणप्रति तीव्र व्यङ्ग्य गरिएको हुन्छ ।
अर्थले गल्यो मान्छे
वर्षाले जमिन गल्यो
स्वार्थले राजनीति गल्यो ।
साइनो सिर्जना र यसको विकासमा निकै सक्रियतापूर्वक खटिने सर्जकहरूमा केशव ज्ञवाली, खेमलाल पोखरेल, सीता सुवेदी पन्थी, धतानन्द शर्मा, सुरेन्द्र शाही, सुरेश काफ्ले विदारक, सीता शर्मा, सीता पौडेल, आर्त अकुलीन, कमला भण्डारी ढकाल, बाबुराम न्यौपाने ‘उत्स’, महानन्द ढकाल, शान्ति दीप, सन्तोष क्षेत्री, चिरञ्जीवी ढकाल आदिको नाम उल्लेखनीय रहेको छ ।
व्यङ्ग्यचेतनाले भरिएको केशव ज्ञवालीको एउटा साइनो यसप्रकार रहेको छः

धेरै बाठो बिरालो
मुसाहरू छोप्छ खान्छ
धर्मात्मा बन्न काशी जान्छ ।
साइनो सृजना र कृतिगत प्रकाशनका हिसाबले बाँकेको कोहलपुर क्षेत्र अग्रस्थानमा रहेको छ । पूर्णिमा साहित्य प्रतिष्ठानको मञ्च प्रयोग गरी वा स्वतन्त्र साइनो सिर्जना गरी यहाँका विष्णु पादुका, महानन्द ढकाल, चिरञ्जीवी ढकाल, निरन्जना चन्द, शान्ति अधिकारी, छविलाल खड्का, चन्द्रवती अधिकारी, यो लेखक पुष्कर रिजालसहित दर्जनौँ सर्जकहरू साइनोप्रति आकृष्ट भएका छन् । यी सर्जकका साइनोमा समसामयिक जल्दाबल्दा विषयहरू नै प्रमुख रूपमा चित्रण गरिएका छन् ।
निरन्जना चन्द निरुको पहिलो साहित्यिक कृति ‘निरुको साइनो’ साइनो इतिहासकै दोस्रो कृति बनेको छ । चन्दका साइनोमा नारी संवेदनाका स्वरहरू सबल रहनुका साथै देशको अर्थतन्त्र, बेरोजगारी, सामाजिक कृति–विकृति, नेपालको प्राकृतिक सौन्दर्य आदिलाई चित्रण गरिएको छ । नाी संवेदनाको चित्रणमा लेखिएको उनको मार्मिक साइनो यस्तो छः

उन्यू फुलिसकेछ
बैँस ओइलाइरह्यो
सिउँदो बाँझै रहिरह्यो । (निरुको साइनो पृः४०)

ब्रह्माण्ड साइनो पुस्तक तयार गरी २०७७ साउन १६ गते प्रकाशनको तयारीमा रहेका हरिप्रसाद चौलागाईका साइनोमा पनि समसामयिक नजजीवनकै चित्रण प्रमुख रूपमा पाइन्छ ।
महङ्गा भए आस्था
बेरोजगारको चिन्ता
जिन्दगी नै आकाशे फल ।
साइनोमा सक्रिय सर्जक कमला भण्डारी ढकाल जीवनभोगाइलाई साइनोमा यसरी प्रस्तुत गर्दछिन् ः
मुहारको चमक
बत्तीमुनिको अँध्यारो
जल्ने एक रम्ने अनेक ।  
सीता शर्माको साइनोमा मानवीय आचरण र व्यवहारमा देखिएको फोहरीपनप्रति यसरी आक्रोश पोखिएको छः
फोहोर जताततै
उकुसमुकुस मन
कलम रोज्नु या खुकुरी ।
शान्ति अधिकारी कोहलपुरमा रही आफ्नो साइनोमा समाजमा विद्यमान बेइमानीलाई यसो भन्दछिन्ः

भेटिँदैन इमान
अँध्यारो या उज्यालोमा
हुँदा सबै नकाबधारी ।

यसरी नेपाली मौलिक कविताको पहिचान बोकेको साइनो स्थापनाको एक वर्ष पुग्दै गर्दा हजार्रौँ सर्जक बनाउनु निकै सुखद विषय हो । यसका सैद्धान्तिक आधारहरू खुल्दैछन् र अझ स्पष्ट हुँदै जानेछन् । त्रिपदी संरचनाको साइनो निकै छोटो विधा भएकाले सूत्रात्मक प्रस्तुति अपेक्षा गर्ने गर्दछ । हाल नेपालभित्र र विदेशमा समेत यसको रचना हुन थालेको छ । नेपाली साइनोमा समसामयिक जनजीवन, प्राकृतिका विविध रूप, देशभिक्त, नारी संवेदना, वर्गीय समाजका चरित्र उद्घाटन, समतामूलक–न्यायपूर्ण समाजको चाहना आदि विषय र स्वर प्रमुख रूपमा मुखरित भएका छन् । हजारौँ सर्जकहरूको सक्रियता हेर्दा साइनोको भोलिको भविष्य पनि निकै सुन्दर हुने देखिन्छ ।

रिजाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.