तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तेस्रो चरणको राहत वितरण सुरू गरेको छ । पहिलो र दोस्रो चरणमा ३ हजार ३ सय घर परिवारलाई राहत वितरण गरेको नगरपालिकाले तेस्रो चरणमा झण्डै ४ हजार परिवारलाई राहत दिन थालेको हो ।
तिलोत्तमाले लकडाउन सुरु भएलगत्तै पहिलो चरणको राहत वितरण गरेको थियो । लकडाउनको समय थपिँदै जाँदा राहतग्राहीहरुको संख्या बढ्दै गएपछि तेस्रो चरणको राहत परिवार संख्याको आधारमा तीन तहमा बाँडेर वितरण गर्न थालिएको नगर उपप्रमुख एवं राहत व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिएकी छन् ।
कार्यपालिकाको निर्णयअनुसार दुई जना व्यक्ति भएको परिवारलाई १५ किलो चामल, दुई किलो दाल, पाँच जनासम्मको परिवारलाई २० किलो चामल, दुई किलो दाल र पाँच जनाभन्दा बढी भएको परिवारलाई २५ किलो चामल, तीन किलो दाल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । यस्तै सबै राहत पाउने परिवारलाई एक लिटर तेल र एउटा साबुन समेत प्रदान गरिने उपप्रमुख चौधरीको भनाई छ ।
पहिलो र दोस्रो चरणमा लक्षित सबै परिवारलाई दश किलो चामल, दुई किलो दाल, एक किलो नुन र एउटा साबुन प्रदान गरिएकोमा यस पटक राहत परिमाणलाई बढाइएको हो । टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई तेस्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले वडाको खाद्य बैंकमा संकलन भएको राहत परिमाणको आधारमा अपुग खाद्यन्न खरिद गरेर वितरण प्रक्रिया अघि बढाएको हो ।संघीय सरकारले दिएको निर्देशनअनुसार राहत वितरणको मापदण्ड बनाएर संकलन, खरिद तथा वितरण गरिएको प्रवक्ता सुरेन्द्र श्रीको भनाई छ ।