दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो।
आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ। देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टीका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ।
देवीभागवत पुराणअनुसार त्रेतायुगमा भगवान् रामले नवरात्रमा देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। पहिलेपहिले राजा महाराजाहरू दशमीका दिन देवीको प्रसाद लगाई विजययात्रामा निस्किने चलन रहेको बताइन्छ।
टीकाको साइत ९:५१ मा
नेपालमा पञ्चांग निर्णायक समितिले विजयादशमीको टीकाकाे साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेकाे जानकारी दिएको छ। यसअघि बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निकालिएको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। ‘साइत खोज्नेका लागि समय दिइएको हो’, उनले भने, ‘विजयादशमीको दिन अाफैँमा साइत भएकाले दिनभर टीका लगाउन सकिन्छ।’
आश्विन शुक्ल पक्षका १० दिन नेपाल र नेपाली मूलका हिन्दुहरू रहेका स्थानमा दशैँ र भारतमा दशहरा वा दुर्गापूजा नामले परिचित छ। भारतीयले दशमीको दिन विसर्जन गरी घडा नदीमा सेलाउँछन्। नेपाली मूलका धेरैजसो हिन्दुहरूले भने पूर्णिमासम्म टीका प्रसाद लगाउँछन्। काेजाग्रत पूर्णिमाका दिन विसर्जन गर्छन्।
वैदिकहरूले लगाए बिहीबार नै
वैदिक कालगणनाका पक्षधरहरूले बिहीबार नै विजयादशमी मनाएका छन्। तिथि अहोरात्रात्मक हुने टुटफुट नहुने भन्दै पञ्चांग निर्णायक समितिको पात्रोले उल्लेख गरेभन्दा एक दिनअघि दशमीको टीका लगाएको गरेको वैदिक विषयका जानकार कृष्णप्रसाद दुवाडीले जानकारी दिए।
चल्तीका पञ्चांगहरूले असोज २३ गते औँसी लेखेका थिए। औँसी श्राद्ध भने अघिल्लै दिन उल्लेख थियो। २३ गते नै प्रतिपदा लाग्ने भए पनि २४ गते घटस्थापना बताइएको थियो। वैदिक कालगणनाका अनुयायीले २३ गते घटस्थापना गरेका थिए। त्यसैले बिहीबार नै विजयादशमी मनाएको दुवाडीले जानकारी दिए।