प्युठान। झिमरुक गाउँपालिका–८, टिमुरचौर प्युठानमा महिला–पुरुष हातमा हसिया र टाउकोमा डोको बोकेर वारि भरी मकै काटिरहेका छन्। कोही मकै बोकिरहेका छन्, कोही काटेका मकै थुपार्दै। यो केवल खेतबारीको दृश्य होइन, यो गाउँको साँस्कृतिक झलक हो—“दुःख पर्दा सबै मिलेर उठ्ने” परम्परा यहाँ अझै जीवित छ।
यी मकै काट्ने हातहरूको केन्द्रमा हुनुहुन्छ हरि बाबु भण्डारी। उहाँकी श्रीमती सीता भण्डारी अहिले काठमाडौंस्थित एभरेस्ट हस्पिटलमा पाठेघरको शल्यक्रियापछि उपचाररत हुनुहुन्छ। श्रीमतीको उपचारमा व्यस्त हुँदा बारीमा पाकेको मकै भित्र्याउन समेत समय पाएनन्। परिवारमा एउटी छोरी जागिरे, बाँकी दुई नानी अझै सानी। यस्तो अवस्थामा खेतबारी कसरी सम्हाल्ने?
तर, टिमुरचौरबासीले उहाँलाई एक्लो हुन दिएनन्। छरछिमेकी, साथी र गाउँले जुटेर भण्डारी परिवारको मकै काटिदिए, घरभित्र्याए। त्यति मात्र होइन, भण्डारी दम्पती एक हप्तासम्म अस्पतालमा बस्नुपर्दा घरको दैनिक ब्यभारसमेत गाउँलेले हेरिदिए।
स्थानीय अमर घर्तीले भन्नुभयो, “हाम्रो गाउँमा कसैको दुःख देख्दा छिमेकका मान्छे सहयोग नगरी बस्दैनन्। गाउँमा सहयोगको भावना धेरै छ।”
हरि बाबु स्वयं पनि यस्तै स्वभावका मान्छे हुनुहुन्छ। घरदेशमै होस् वा परदेशमा, बिरामी वा विपत्तिमा परेका थुप्रैलाई उहाँले आर्थिक सहयोग गर्दै आउनुभएको छ। आज गाउँलेहरूले उहाँकै परिवारलाई त्यो सद्भाव फिर्ता दिएका छन्।
अस्पतालमै रहेका हरिबाबु भण्डारीले दुखका बेला सहयोग र माया देखाउने सबैलाई धन्यबाद दिनुभयो। अहिले श्रीमतीको स्वास्थ्य सुधार भएको र अस्पतालबाट डिस्चार्ज भइसकेको भण्डारीले बताउनुभयो।
दुःखमा हात बढाउने गाउँ
दुःखमा हात बढाउने गाउँ

Advertisement
तपाईको प्रतिक्रिया