प्युठान। विदेश जाने रहर थियो। १२ वर्षअघि, २०६७ सालमा गाउँकै भृकुटी माविबाट एसएलसी उत्तीर्ण गरेका ३२ वर्षीय पदम केसीले बालशिक्षा मच्छीबाट प्लस टु सकेपछि क्यानडा जान दलालमार्फत प्रयास गर्नुभयो। तर सपना त परै जाओस्, साथमा भएको पैसा समेत गुम्यो।
प्युठानको गौमुखी गाउँपालिका–६, लिवाङका केसीका लागि यही धोका जीवनको टर्निङ पोइन्ट बन्यो। अहिले उहाँ जिल्लामै सफल कृषकका रूपमा चिनिनुहुन्छ।
गाउँ फर्किएपछि केही समय विद्यालयमा पढाउनुभयो, सडक विभागमा करार सेवामा पनि काम गर्नुभयो। स–साना काम गर्दैगर्दा दीर्घकालीन भविष्य भने कृषिमा देख्नुभयो। कृषि ज्ञान केन्द्रबाट तालिम लिएपछि योजना बनाएर २०७३ सालमा बाख्रापालन सुरु गर्नुभयो।
८० हजार रुपैयाँबाट सुरु भएको बाख्रापालन र नर्सरी व्यवसाय अहिले ५० लाख नाघेको छ।
“त्यो बेला ठगिएँ,” केसी सम्झनुहुन्छ, “अहिले मलाई गाउँमै टिकेर बाँच्न सकिन्छ भन्ने आत्मविश्वास छ।”
पछि ‘केसी बाख्रा तथा कृषि फर्म’ दर्ता गर्नुभयो। उहाँको खोरमा अहिले बोयर जातका ३५ वटा बाख्रा छन्, जसमध्ये १२ लाख रुपैयाँ बराबरको बीमा गरिएको छ। तीन वर्षपछि सुरु गरिएको नर्सरीमा अहिले फलफूल, घाँस र जडीबुटीका विरुवा उत्पादन हुन्छन्। १ लाखभन्दा बढी बेर्ना तयारी अवस्थामा छन्। जिल्लाभित्र मात्र होइन, बाहिरसमेत माग बढ्दो छ।
यो वर्षदेखि सुन्तला खेतीमा पनि अग्रसर हुनुभएको छ। उहाँले २०० सुन्तलाको बिरुवा रोपिसक्नुभएको छ। आगामी वर्षदेखि यो खेतीलाई अझ विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
“बाख्रापालनमा मुनाफा कम, खर्च धेरै छ,” उहाँले भन्नुभयो, “तर नर्सरीमा सम्भावना धेरै देखिएको छ।”
७८ वर्षीय बुवा, ७५ वर्षीया आमा र श्रीमती मिठाकुमारीको साथमा फर्म सञ्चालन गर्दै आएका केसी एक छोरा र एक छोरीका बाबु पनि हुनुहुन्छ। बजार व्यवस्थापन, तालिम र सामाजिक समन्वयमा पनि उहाँ सक्रिय रहनुहुन्छ। “घरमा बाबुआमा हुनुहुन्छ, म बाहिरी काममा लाग्न पाएको छु,” उहाँले भन्नुभयो।
विदेशमा रहेका दाजुभाइभन्दा फरक बाटो रोजेका केसी प्युठान जिल्लाकै उदाहरणीय कृषक बन्नुभएको छ।
“मेहनत, योजना र लगन भयो भने गाउँमै धेरै गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “अब युवालाई काम गर्न हौस्याउने स्पष्ट नीति चाहिन्छ।”
दलालले ठगे, माटोले साथ दियो
दलालले ठगे, माटोले साथ दियो

Advertisement
तपाईको प्रतिक्रिया