काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनावश्यक भ्रम छर्ने काम भइरहेको बताएका छन् । कम्बोडियाको टेलिकममा अध्यक्ष ओलीको लगानी रहेको भन्दै राजावादीहरुले भ्रम फैलाइएपछि महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताए ।
महासचिव पोखरेलले वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु रहेको बताए । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार भएको उनले बताए ।
‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो ।’ महासचिव पोखरेले भनेका छन्, ‘नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं ।’