नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ। ‘विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर’ भन्ने नाराका साथ वडा नम्बर ९ सामरी दोभानमा स्थापना गरि मगंलबारबाट सेग्रिगेसन हाउस संचालनमा ल्याइएको हो ।
एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्र्तगत ८० लाख रुपैयाँको लगानीमा सेग्रिगेसन हाउस निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नगरपालिकाबाट उत्पादित फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्दा आयआर्जनको श्रोत समेत बन्ने बताए । परिवर्तनको प्रयासहरु निरन्तर रुपमा भइरहे पनि त्यसलाई दिगो रुपमा सञ्चालन गर्न चुनौती रहेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।
विदुर नगरपालिकामा दैनिक १४ टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये ६० प्रतिसत नकुहिने फोहोर उत्पादन हुने गरेको छ । ती नकुहिने फोहोरलाई सेग्रिगेसन हाउसबाट छानिने नगरपालिकाले जनाएको छ ।