म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले सूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता बस्नेतले प्रचण्डलाई २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा सिरहामा लीलानाथ श्रेष्ठले सूर्य चिह्नको मतपत्र च्यातेर चुनाव जितेको बताउँदै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनमा आफ्नी छोरी रणु दाहाललाई मतपत्र च्यातेर चुनाव जिताएको आरोप लगाए । उनले भने– ‘प्रचण्डले छातीमा सूर्य चिह्न टाँसेर हिँड्नु त्यो नक्कली माया मात्रै हो ।’प्रचण्ड कहिले रोल्पाबाट, कहिले सिरहा र कहिले चितवनबाट उठेर निर्वाचन लड्ने गरेको आरोप लगाउँदै नेता बस्नेतले आगामी निर्वाचनमा कहाँबाट उठ्ने हो भन्ने ठेगान नभएको बताए ।
उनले चितवनको चुनावमा प्रचण्डले नेपाली कांग्रेसलाई त्यहाँको निर्वाचन क्षेत्रमा बिक्रम पाण्डेलाई नउठाइदिन समेत आग्रह गरेको आरोप लगाए नेता बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालय कब्जा, बैंक खाता रोक्का गर्ने जस्ता कार्य नगर्न आग्रह गर्दै प्रचण्डलाई त्यस्तो गरेमा सह्य नहुने चेतावनी दिए ।पूर्व मन्त्री तथा राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले अहिले नेकपामा जति पनि पार्टीका कमिटीहरु गठन भएका छन्, जति पनि सदस्यहरु मनोनित भएका छन् ती सबै केपी ओलीको सिफारिसमा भएकाले आधिकारिक भएको बताए । उनले आगामी चुनावका लागि केपी ओली नेतृत्वको नेकपाले सूर्य चिह्न पाउनेमा कुनै विवाद नभएको तर्क गरे । उनले अहिले नेकपा विभाजित भएर प्रचण्ड–माधव पक्षमा लागेका नेता, कार्यकर्ताहरु पुनः केपी ओलीको पार्टीमै फर्किने दावी गरे। नेता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव संसदीय दलको वैठकमा दर्ता गर्नुपर्नेमा प्रचण्ड–माधव नेपालले संसदीय सचिवालयमा दर्ता गरेपछि नेकपा आधिकारिक रुपमा विभाजित भएको बताए ।
केपी ओलीले सरकार गठन गर्दा २ महिनासम्म अल्झाएको आरोप लगाउँदै उनले भने– ‘त्यो लोकतान्त्रिक हुने अनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नु कसरी अलोकतान्त्रिक हुन्छ ?’ भन्दै प्रश्न गरे । उनले आजको भू–राजनीतिमा चीन र भारतलाई गाली गर्ने नभई अन्तर्राष्ट्रियस्तरमा नेपालको सुमधुर सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए । उनले अब वाईसीएल र युथफोर्स बनाउने नभई टोलटोलमा साइबर सेना बनाउनुपर्ने बताए ।  सोही भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले केपी ओली नेतृत्वको सरकारले देशमा थुप्रै विकास निर्माणका कामहरु गरेको बताए । उनले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि म्याग्दीलाई हिमाली जिल्लाको सूचीमा राख्न पहल गरेको, अन्नपूर्ण बेसक्याम्पको पदमार्गमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको रुईसे, पुनहिल, तातोपानी कुण्ड, महरेडाँडालगायत पर्यटकीय क्षेत्रको विकासका साथै जिल्लामा सडक, खानेपानीको विकासमा जोड दिएको बताए ।