काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्र्तक्रियामा बोल्दै बरिष्ठ नेता पौडेलले सार्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कुनै कानूनी तथा संवैधानिक आधार बिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने विश्वास रहेको बताउनुभयो । उहाँले संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफुहरु अदालतमा गएर बहस गर्नुपर्छ भनेपनि तयार रहेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताउनुभयो । देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानी केन्द्रीत भएर पनि आउनसक्ने बताउनुभयो ।