काठमाडाै ।प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउनका लागि प्रचण्ड-नेपाल समूहको ३ सय भन्दा बढी पटक बैठक बसेको बताएका छन् ।
आफु निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत बैशाख यता खुमलटार र विभिन्न क्षेत्रमा गरी ३१५ वटा बैठक बसेको बताएका हुन् । उनले खुमलटारमा २८० पटक बैठक बसेको बताए । उनले भने, ‘केही नेता सरकारका काम छोप्नमै व्यस्त भए। वैशाखदेखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २८० बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरे । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अगेनाको डीलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा’’
प्रधानमन्त्रीले देशले पहिलो पटक महिला राष्ट्रपति पाएको लोकतान्त्रिक मुलुकमा राष्ट्रपति विरुद्ध नारा लगाउन ‘सरम’ हुनुपर्नेमा त्यसको हेक्का नेताहरुले राख्न नसकेको पनि बताए ।
संसद विघटन भएपछि संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दे ओलीले संसद भंग भएपछि पनि सभामुख कीर्ते कामको साक्षी बसेको आरोप लगाए ।
सूर्य चिह्न आफुले नपाए कसले पाउँछ ? भन्दै ओलीले अझै पनि अध्यक्षबाट पुष्पकमल दाहाल प्रचण्डलाई, वरिष्ठ नेताबाट माधवकुमार नेपाललाई र सचिवालय सदस्यबाट नारायणकाजी श्रेष्ठलाई नहटाएको बताए । प्रचण्डको कार्यकारी अधिकार र श्रेष्ठलेको प्रवक्ताको जिम्मेवारी मात्रै खोसिएको उनले बताए ।