नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डेढ वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माणको काम सुरु भएको छ ।
कावासोती नगरपालिका –३ मा रहेको १ सय ८४ विगाह क्षेत्रफलमा एकिकृत कार्यालय रहने गरि सदरमुकाम निर्माण गर्न लागिएको हो । प्रारम्भिक चरणमा अहिले एकिकृत सरकारी कार्यालय भवनहरुबाट निर्माण स्थलसम्म पुग्ने पहँुचमार्ग निर्माणको काम शुरु गरिएको छ। यसकालागि सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरबाट बोलपत्र आव्हान गरि प्रक्रिया अघि बढेको छ । करोड ८० लाख बजेटबाट प्रारम्भिक चरणको काम शुरु गर्न लागिएको हो ।प्रारम्भिक चरणमा पहुँचमार्ग निर्माण पश्चात यसै वर्षबाट थप सडक र भवन निर्माणको काम समेत शुरु हुने बताईएको छ । सदरमुकाम निर्माण स्थलमा संघ,प्रदेश र स्थानीय तहका कार्यालयहरु निर्माण हुनेछन् ।हाल संघ मातहतका १६,प्रदेश मातहतका ११ तथा स्थानीयतहको कार्यालय निर्माण गर्ने गरि गुरुयोजना तयार पारिएको छ ।
सदरमुकाम निर्माण स्थलमा पुस्तकालय,सभाहल, बैंक,अतिथि गृह,आवाश गृह,रंगशाला,सूचना केन्द्र,प्रहरी तालिम केन्द्र,पार्क लगाएतका संरचनाहरु समेत निर्माण हुनेछन् । नमूना सदरमुकाम निर्माणको गुरु योजना अनुसार करिब १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।