आजभोलि अधिकांश परिवारमा आमाबुबा र छोराछोरीबीचमा कुरा मिल्दैन अझ संयुक्त परिवार छ भने त हजुरबुबा हजुरआमा, नाती नातीना, काका काकी भतिजा भतिजीबीचमा समेत कुरो नमिलेको देखिन्छ । अझ सिधै भन्नुपर्दा उमेर अन्तर भएकाहरुबीचमा कुराहरु मिल्दैन । यसरी उमेर अन्तर बीचका कुरा नमिल्नुलाई एक पुस्ताबाट अर्को पुस्ताको अन्तरको रुपमा लिने गरिन्छ । जसलाई हामी पुस्ता अन्तर भन्ने गर्छौ ।
हरेक मानिसले तत्कालीन परिवेश अनुसारको ज्ञान हासिल गरिरहेको हुन्छ ।
त्यो ज्ञान हासिल गर्न तत्कालीन समयको शिक्षा र प्रविधिले भूमिका खेलेको हुन्छ ।
त्यही ज्ञान र प्रविधिबाट हरेक मानिसले आप्mनो विश्वास, मूल्य मान्यता सिर्जना गर्दै दृष्टिकोण निर्माण गरेको हुन्छ । त्यस किसिमको दृष्टिकोण निर्माणमा कारक देखिने तत्कालीन परिवेशको ज्ञान र प्रविधिको कत्तिको छिटो परिवर्तन भएको छ, सोही परिवर्तन अनुरुप नै पुस्ता अन्तरमा देखिने समस्या कम र बढि हुने गर्दछन् ।यसलाई प्रष्ट पार्नको लागि प्यूठान जिल्लाको विगत ३० वर्षमा प्रविधिमा भएको विकासलाई हेरौं ।
३० वर्ष अगाडि प्यूठान लगायत धेरै ठाउँमा विजुलि भित्रिएको थिएन । विजुली नै नभएपछि टेलिभिजन, कम्प्युटर र इन्टरनेटको कुरै नगरौं । विजुली नभएपछि मट्टितेलको टुकिको उज्यालोमा पढ्नु पर्दथ्यो । मानिसले विजुली विना पनि दैनिक काम गर्न सक्थ्यो र ? भनेर अहिलेको पुस्ता प्रश्न गर्ने भइसकेको छ । विजुली मानिसको दैनिक जनजिवन चलाउने अत्यावश्यक साधन बनेको छ ।३० वर्ष अगाडि प्यूठानमा तार फोन समेत थिएन भन्दा अहिलेको पुस्तालाई अचम्म लाग्न सक्छ । तर यो यथार्थता हो । ३० वर्ष अघि एक जिल्लाबाट अर्को जिल्लामा केही सन्देश पठाउन जिल्ला सदरमुकाममा रहेका आवा को भर पर्नुपर्ने अवस्था थियो । जिल्लमा तार टेलिफोन हुँदै अहिलेको मोवाइल प्रविधिको विकास भएको यही तीस वर्षको दौरानमै हो । यो ३० वर्षको दौरानमा पुरै संसारसहित हामी नेपालीले धेरै परिवर्तन आत्मासात गरिरहेका छौं । ३० वर्षको छोटो अवधिमै प्रविधिको विकास दु्रततर रुपमा भइरहेको छ । द्रुततर रुपमा भइरहेको यो प्रविधिको विकास नै पछिल्लो समय पुस्ता अन्तरको समस्या पनि बढाइदिएको छ । हामीले हाम्रा बाजे र बुबाको जति पुस्ता अन्तर थियो अहिले त्यसको कैयौ गुणा बढि पुस्ता अन्तर देखिदैछ । हाम्रा बुबाहरु प्रायः आप्mनो बुबासँगै बसेका थिए । बुबाले भनेको मान्य आज्ञाकारी थिए । बुबाको सुखदुःखमा सधै साथ दिने कोशिस गर्दथे तर अहिले बुबाआमा र छोराछोरीको कुरा मिल्दैन । प्रविधिको अन्तर बढि भएजस्तै यसले अहिलेका बुबाआमा र छोराछोरीबीचमा अन्तर ल्याइदिएको छ । मानिसको उत्पत्तिदेखि नै प्रविधिको विकास निरन्तर भइरहेको छ । यहि प्रविधिको विकासले नै मानिसले आप्mनो दैनिक जनजीवन सहज बनाएको हो ।
हामीलाई उपचार गर्ने हरेक औषधिको केही न केही साइड इफेक्ट हुन्छ भनिन्छ तर साइड इफेक्ट छ भनेर औषधि खाएन भने मान्छे मर्न पनि सक्छ। प्रविधि पनि त्यस्तै हो । प्रविधिको विकासले पुस्ता अन्तरको बढ्ता समस्या देखियो भनेर प्रविधिको विकास नै नगर्ने त ? यसो गर्नु मूर्खतापूर्ण काम हुने छ । जसरी औषधिको प्रयोगले मानिसको ज्यान बचाउँछ त्यसरी नै प्रविधिको विकासले समाजलाई समुन्नत बनाउन सहयोग पु¥याउँछ । हामीले प्रविधिको विकास नगरेको भए आजसम्म मानवको अस्तित्व नै संकटमा पर्न सक्ने सम्मको सम्भावना देखिन्छ ।
मानिसको उमेर बुढो भएसँग सिर्जनशिलता पनि बुढो हुँदै जान्छ । बढि उमेरका मानिसहरु कम सिर्जनशिल हुन्छन् भनिन्छ । सिर्जनशिलता कम भएका कारण पाको मानिसहरु आपूmले विगतमा गरेका कामहरुलाई गौरवपूर्ण रुपमा सम्झिने गर्दछन् । विगतमा गरेका कामहरुलाई उनीहरुले गर्वका साथ घण्टौ व्याख्या गर्ने गर्दछन् । तर यस्तो कुरामा नयाँ पुस्ताकालाई खासै रुचि देखिदैन । उनीहरुलाई त आजको समयमा के कुरा भइरहेको छ र भोलि के कुरा हुँदैछ भन्नेमा चिन्तन गरिरहेका हुन्छन् । उनीहरु वर्तमान र भविष्यमा बढ्ता केन्द्रित हुन्छन् । यसो हुँदा पुरानो र नयाँ पुस्ताका बीचम कुराकानी मिल्दैन ।
पुरानो पुस्ताका व्यक्तिहरु पुरानै कुरा मात्र गर्ने र नयाँ पुस्ताकालाई ति कुराप्रति रुचि नभएपछि उनीहरु कुरा सुन्न सम्म पनि धैर्य गर्दैनन् ।
पुराना पुस्ताकालाई आप्mना छोराछोरी नाती नातीनाले आप्mना कुरा सुन्दिए हुन्थ्यो जस्तो लाग्छ तर रुची नै नभएको कुरा उनीहरुले कसरी सुनुन् ?
पुस्ता अन्तर हुनुमा पुरानो पुस्ता बढि जिम्मेवार देखिन्छ । पुरानो पुस्ताले चाह्यो भने पुस्ताअन्तरमा कमि ल्याउन सक्दछ । पुरानो पुस्ताले नयाँ पुस्ताको मूल्य मान्यतालाई आत्मसात गर्ने कोशिश गर्नुपर्दछ । उनीहरुको रुचीलाई पनि ध्यान दिने हो भने उनीहरु कम्तिमा पुरानो पुस्तासँग टाढिने कुरा आउँदैन । सँगै बसेर गफगाफ गर्ने वानीको विकास भयो भने पुरानो पुस्ता र नयाँ पुस्ता एक आपसमा कुरा गर्ने विश्वासको वातावरण बन्न सक्छ । तर हामीकहाँ ठूलो मान्छे । पाको मान्छे भनेपछि सबै कुरा जानेको छ भन्ने भ्रम छ । बालबालिकाको सिर्जनशिलतालाई हामी ध्यान दिदैनौ । उसका बाल्यकालदेखिका प्रश्नको उत्तर दिन हामी झण्झट मान्छौ । त्यसले गर्दा उ हामीसँग बोल्नै छाड्छ नजिक पर्नै छाड्छ । त्यो वानीको बिकास हामी बुबा आमाले नै गरेका हुन्छौं । अनि जव उ बयस्क हुन्छ । हामीलाई उसको सहायता आवश्यक पर्छ तव मात्र उसलाई हामी सम्झिन्छौं । हाम्रो नजिक आएर बसे हुन्थ्यो । हाम्रो कुरा सुने हुन्थ्यो । तर हामीले उ बच्चा छदा गरेको व्यवहारको परिणाम नै उसले अहिले त्यस्तो व्यवहार गरेको भुल्छौं ।
बच्चाकोे लालनपालनमा विश्वास र नियन्त्रणको सन्तुलन कायम गर्न सक्नुपर्दछ । बालबालिकालाई सबै कुरामा विश्वास गर्न नसकिएला तर हामी नियन्त्रणमा मात्र गयौ भने पुस्ता अन्तरले भ्mयांगिने अवसर पाउँछ । यो नियन्त्रणले कतिपय अवस्थामा बालबालिकाको व्यक्तित्व विकासदेखि लिएर समग्र विकासको लागि नराम्रो प्रतिफल समेत दिएको पाइन्छ ।
बच्चाको रुची बिनाको कामले कहिल्यै राम्रो परिणाम ल्याउन सक्दैन ।
अरुचीपूर्वक बच्चालाई काम गर्न लगाउनुभन्दा उसको के कुरामा सिर्जनशिलता छ त्यो कुरालाई मलजल गर्नु राम्रो हुन्छ । पुस्ता अन्तरमा नियन्त्रण भन्दा पनि बढ्ता विश्वासले काम गर्दछ । दुई पुस्ताबीच हामीकहाँ विशेष गरी पुरानो पुस्ताले नियन्त्रण गर्ने काम बढि गरेको देखिन्छ । त्यसकारण नयाँ पुस्ताले आप्mनो रुची बिनाको काम गरेको भनेर पुरानो पुस्तालाई वेवास्ता गरिरहेको हुन्छ ।
पुस्ताअन्तरमा कमी ल्याउन परिवारका सवै सदस्यको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । पुरानो पुस्ताका ज्ञान र अनुभवलाई नयाँ पुस्ताले आप्mनो अनुकूल समय सान्दर्भिक प्रयोग गर्न सक्दछ ।
नयाँ पुस्ताको रुचीलाई पुरानो पुस्ताले पनि सम्मान गर्न सक्यो र त्यसमा जति सक्यो बढि त्यसमा समाहित हुन सक्यो भने उसले कहिल्यै आपूmलाई पुरानो र बुढो महसुस गर्नुपर्दैन ।
सधै सिर्जनशिलतालाई अनुसरण गर्न सक्दछ । यसरी पुरानो र नयाँ पुस्ता दुबैको मूल्य मान्यता, जीवनशैली जस्ता कुरालाई दुबैले एक आपसमा आत्मसात गर्न सके पुस्ताअन्तरको सामाजिक समस्याबाट त्यो परिवारका सदस्यहरु बच्न सक्दछन् । यसैलै पुस्ता अन्तर कम गर्न हामी सबै आ–आप्mनो ठाउँबाट क्रियाशील होऔं । खुशीसाथ परिवारमा रमाऔं ।