-पुष्कर रिजाल
गाउँलेहरू उसलाई खासै पत्याउँदैनथे । हुन पनि उसका कुरा अनौठा र नौला हुन्थे । ऊ पनि आफ्ना कुरालाई अरुले जसरी ल्याए पनि मतलब गर्दैनथ्यो । निर्धक्क आफ्ना कुरा राखिहाल्थ्यो । ऊ गएको घण्टौँसम्म पनि गाउलेहरू चौपारीमा बसी उसका कुरा काटी बहस गर्थे । उसको पक्ष लिनेलाई पनि उल्लीबिल्ली पारिन्थ्यो ।
उसले आफ्नो बारी जोतेपछि ‘बाहुनले पनि जोत्यो’ भनेर समाजले झण्डै पानी बारेको थियो । सहर जाँदा एकदिन होटलमा खाना खाएको थाहा पाएर बाबुले छुट्याइदिएका थिए । जिम्माल बाले नराम्ररी झपारेका थिए । यसपछि उसले गाउँ छाड्यो । २/४ वर्षपछि भएको सम्पत्ति बेचेर हिडेकाले गाउँमा देखिन छाड्यो । ज्यामिरे गाउँमा उसको परिचय अब हराउँदै गयो ।
पढेलेखेको हुनाले उसले निकै परको गाउँमा शिक्षकको जागिर पायो । विद्यार्थीहरू उसका नौला कुराहरू सुन्न उत्सुक बन्थे । पुराणका कुरा पनि उसले विज्ञानसँग जोडेर रोचक बनाउँथ्यो । उसले विद्यालय नजिकै सानो सानो घर पनि बनायो । उसका स्वास्नी छोराछोरी पनि भए । अलिअलि गर्दै उसलाई विद्यालयका अभिभावकले पनि मन पराउन थाले । उसले एकदिन यो स्कुल क्याम्पस बनाउने कुरा समितिमा राख्यो । उसका कुरा सुनेर धेरै जना गलल्ल हाँसे । केहीले ‘असम्भव कुरा’ भने । एक दुई जनाले ‘गरे नहुने के छ र’ भने ।
जागिर खाएको पन्ध्र वर्ष भएछ । ऊ प्राचार्य भएर विद्यालयमा +२ संचालनमा आयो । सहर पढ्न जाने विद्यार्थीहरू गाउँमै रोकिए । एक दिन गाउँमा जागिर खोज्दै नयाँ मानिस आयो । क्याम्पसमा पढाउन एकजना विज्ञान शिक्षक चाहिएको थियो । समितिका अध्यक्षले उसलाई हेडसरसँग कुरा गर्न भने ।
विष्णु सर नमस्कार ! भन्दै त्यो मान्छे आँगनमा देखियो । परिचयको आदान-प्रदान भयो । जागिर खोज्नेवाला जिम्माल बाकै छोरा थियो । विष्णु सरले गाउँको हालखबर सोधे । त्यो मान्छेले गाउँमा अझै स्कुल नखुलेको बतायो । बाटो घाटो पुगेछ । मोबाइल र फ़ोन सुविधा थपिएछ । युवाहरू विदेश जाने लहर चल्दै रहेछ । जिम्माल बा बिरामी रहेछन् । सबै कुरा बुझेपछि उसलाई प्रमाण पत्रहरू छाडेर निवेदन दिई जान भने ।
ओच्छ्यानबाटै जिम्माल बाले जागिरको कुरा के भयो भनी सोधे । गाउँमा पुगेको हरिले विष्णु सरको सहयोगी व्यवहारको खुलेर प्रशंसा गर्यो । ‘त्यही बिस्ने !’ सुरुमा नपत्याएर जिम्मालले ओठ लेप्राए । आफूले उतिबेला गरेको दुर्व्यवहार पनि सम्झे …! छोराको जागिरको सवाल भएकाले फोन नम्बर मागेर डायल गरी आफ्नो परिचय दिए : हेल्लो विस्नु सर हो ? म ज्यामिरेबाट गंगाराज ! जिम्माल बा क्या !
लेखक रिजाल : मध्यपश्चिमांचल विश्वविद्यालय, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक हुनुहुन्छ ।