केहि लेख न है ,
राम्रा लेख्छ्यौ , कलम नछोड
तिमी फुर्काउँछौ , सँगै अराउँछौ ।
के लेखौं , बिषय नै छैन ।
लेखिईसकेकालाई शब्द फेर्दैमा
पात्रका नाम र समाज फेर्दैमा
के नै नयाँ हुन्छ र !
भाग्ने बाहानामा म ।
लेख न
तिमी केटीमान्छे सजिलो छ त
बिषय पाउन ।
बलात्कारका चित्कार लेख ,
दुर्ब्यबहारका पर्दा खोल
अन्यायका ब्यथा लेख
बिद्रोह लेख
स्वतन्त्रताका आवाज लेख ।
हरेक पल दिनुपर्ने परिक्षा लेख
फेलहुनुका नियति लेख ।
घाउहरु देखाउ
यस्तै यस्तै सबै लेख ।
कहिलेकाहीँ यस्तो पनि लेख
धर्ति हुनुमा अहँकार
पाठेघरको हुनुको हुँकार
तिमी सर्बशक्तिमान !
नत्र अतिवादि बनेर लेख
” नारिवाद ” छताछुल्ल पोख ।
”सबै पुरुष उस्तै ” भन्दै
एउटै घानमा राखेर भुट ।
बजारमा यस्तै त बिक्छ ।
कि सहानुभुति बिक्छ
या त बिद्रोह ।
म छक्क पर्छु ,
केटीले रोदन नै लेख्नु पर्ने ? !
या शरिर बेच्नु पर्ने ? !
के मेरो खोपडिभित्रको गिदि
तिम्रो भन्दा कमसल हो?
मेरो छातिभित्र धड्कने मुटु
तिम्रो भन्दा फरक हो ?
मैले किन तिम्ले जस्तै
जिवनका कुरा नगर्ने ?
रोमान्चक प्रेमका कुरा नगर्ने ?
नितिका कुरा , अर्थतन्त्रका कुरा
देश – राजनितिका कुरा
कानुनका कुरा , कुरितिका कुरा
मैले नि गर्न सक्दिन र ?
कि तिम्रो साम्राज्यमा मिल्दैन?
तिमलाई यदि नारी उत्पिडनको चिन्ता भए
साहित्यमा होइन, ब्यबहारमा हेर
शब्द र अक्षरका लयमा होइन
घर र अफिसको बिचमा हेर ।
तिमले यात्रा गर्ने बसमा हेर ।
घरको भान्सामा मात्र होइन
ओछ्यानमा पनि हेर
आफैलाई सोध
कति न्यायी छौ।
रजोनिवृति स्ँग एक्लै जुधिरहेकि तिम्री आमा
आफैलाई के भैइरहेको छ
किन भैरहेको छ,
प्रश्नका उत्तर खोज्दा खोज्दै
एक्लै हराईरहँदा
तिम्रा बा लाई चिया ढिलो हुन्छ
चिनि कम या शुन्य ह्न्छ ।
तिम्रा बा ले आमालाई कराउँदा
के गर्छौ तिमी , आफैलाई सोध ।।
तिमी भन्दा तेजस्वी तिम्री बहिनी
आफ्ना लोग्नेका खातिर
सपनाको तिजान्जली दिँदै
” माया” ले घर सम्झाल्छे ।
चुपचाप , गुमनाम तिम्री बहिनी
जब असह्य एक झापडले
चेत खुलेर तिम्रा छेउ आउछे
के गर्छौ तिमी ?
दुईचार दिनपछि सम्झाई बुझाई
”’घर ” पठाउँछौ ?
या आखा खुलेकोमा स्याबासी दिँदै
अर्को बाटो देखाउछौ?
यस्तै सानातिना कुरा पढ
आफ्नै वरिपरिका नलेखिएका कुरा।
कम्तिमा आफै त न्यायी बन ।
मैले लेखेर या तिम्ले पढेर मात्रै
सबै बदलिने भए
सबथोक छोडी म लेख्न बस्थेँ ।
मैले लेख्नै पनि पर्थेन ,
बिगतमा लेखिएका धेरै कुरा
साभार गरेरै बस्थें ।
© माया पन्थी