टेकबहादुर पुन,दाङ । दिनभरी डुल्दै मागेर खानुपर्थ्यो । कतिको गाली सहनु पर्थ्यो त कतिले छिछि दुर दुर गर्थे । अरुको सामु हात नफिजाउँ पनि कसरी । पेटले खाना, जो मागेको छ । मान्छेलाई बाँच्नका लागी आखिर गास, बाँस र कपास त हो चाहिने । दिनभरी बजारका गल्ली गल्ली भौतारिने ती होसचेत गुमाएका अशक्त, असाहय ब्यक्तिका दैनिकी कहाली लाग्दो नै हुन्थ्यो ।
उनी त्यसै सडकमा आएका त हैनन् । कोहीकोही आफन्त नभएर बाध्यताले रोडमा आएका हुन भने कसैलाई आफैले जन्म दिएका सन्तानले बेवास्ता गर्दा रोडमा आएका हुन् । सन्तानको लागि हरेक सपना सजाउने तिनै बाबा आमा मानसिक सन्तुलन गुमाएर या अशक्त, अपाङ्गता तथा बृद्द भएर रोडमा आएका उदाहरण थुप्रै छन् । जब उमेर ढल्केर शरिरले काम गर्न छोड्छ तब कति बुवा आमा तिरस्कृत हुनुपर्छ ।दिनभरी भौतारिने तिनै असाहय, अशक्त तथा बृद्द आमाबुवाको सहारा बनेको छ निलसागर आश्रम ।
देशका विभिन्न जिल्लामा असाहय आमाबुवाको सेवा गर्ने उद्देस्यले सञ्चालित निलसागरले बाँके, बर्दिया, दाङ्ग र पाल्पामा आश्रम सञ्चालन गरि सेवा सुरु गरिसकेको छ । सरकारको साथ सहयोग पाएदेखी देशका अन्य विभिन्न जिल्लाहरुमा पनि सेवा सुचारु गर्ने निलसागरले जनाएको छ । दाङ्गको देउखुरीमा गत पौषदेखी निलसागरले सेवा दिन थालेपछी दाङ्गका बजार हरुमा अहिले बेसाहारा असाहाय हरु देखिन छाडेका छन । निलसागरले देउखुरीको राप्ती गाउँपालिका ८ सिसहनियामा आश्रम सञ्चालनमा लिएपछी दाङ्गका प्रमुख बजारहरुमा मानसिक सन्तुलन गुमाएर भौतारिने गरेका असाहाय हरु देखिन छाडेका हुन् । आश्रममा अहिले महिला पुरुष गरि ३० जना मानसिक रोगी भएका असाहाय, अशक्त बृद्दबृद्दा रहेका छन् । जसमध्य ७ महिला र २३ पुरुष छन । प्राय बृद्दबृद्दा छन ।तिनै आश्रम अहिले लकडाउनका कारण सबैभन्दा बढी प्रभावित भएका छन् ।‘लकडाउन’ले सहयोगी, मनकारी दाता, जन्मदिन जस्ता उत्सवहरु ठप्प भएपछि हिँजोआज सांझ बिहान छाक टार्न गाह्रो भएको छ । सामान्य प्रस्थितिमा जन्मउत्सब, बिवाह बर्षगाँठ, श्राद्द जस्ता अबसरमा सहयोगी दाताहरुबाट सहयोग स्वरुप रासन पानी आउँथ्यो । अहिले लकडाउनका कारण सहयोगमा कमी भएको छ जसले गर्दा कसरी खाना खुवाउने भन्ने पिरलो परेको छ निलसागर दाङ्गका सँयोजक प्रकाश बिष्टले भने । लकडाउन भए पश्चात राप्ती गाउँपालिकाले उपलब्ध गराएको खाद्यान्न पनि सकिन लागेको उनले बताए ।
सरकारी निकायबाट उचित ब्यबस्था नहुँदा र लकडाउनका कारण पनि मानबिय सेवामा समर्पित यस्ता आश्रमहरु दैनिक प्रभाबित हुँदैछन् । देउखुरी स्थित निलसागर आश्रममा बस्नका लागि पनि कोठाहरु पर्याप्त छैनन् । महिला पुरुष लाई छुट्टा छुट्टै बसाल्नुपर्ने भएकाले पनि पर्याप्त नभएको हो । उक्त भवनपनि अर्को ब्यबस्था नहुञ्जेल सम्म स्वर्गीय गिरा बहादुर कार्की र छोरा ईन्द्र बहादुर कार्किले आफ्नै घर आश्रमका लागि दिएका हुन् । अहिले सोही भवनको वरिपरि राप्ती गाउँपालिकाले टिनको बार समेत लगाएको छ । ‘मानसिक बिरामी भएकाले कोही बेला जोपनि भाग्न सक्नुहुन्छ, बार अति आबस्यक थियो सँयोजक बिष्टले भने-गाउँपालिकामा आग्रह गरियो, अनि बार भने लागेको छ ।’भवनका लागि आफुले गाउँपालिका र माथिल्लो सरकारमा आबस्यक पहल गर्ने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताए । निलसागर आश्रमलाई स्थापना कालदेखी नै आबस्यक सहयोग गरिरहेको बताउँदै अध्यक्ष सुबेदीले आगामी दिनहरुमा सहयोगका लागि सधै तत्पर रहेको जनाए । ‘आश्रमलाई गाउँपालिकाको सहयोग मिलेको छ, हाम्रो दायित्व पनि हो, रासन पानी, स्वास्थ्य, सुरक्षा सबैमा सक्दो गरिएको छ अध्यक्ष सुबेदीले भने-भवनका लागीपनि मैले पहल थाल्नेछु, झट्टै हुने कुरा भएन, केही समय लाग्ला ।’निलसागर दाङ्गका सँयोजक प्रकाश बिष्ट आफैपनि स्वास्थ्यकर्मी भएकाले सरकारी निकायलाई स्वास्थ्य चेकअपका लागि डाक्टर झिकाउनुपर्ने बाध्यता भने छैन । बिष्टले उनिहरुको ज्वरो, रुघाखोकी, झाडापखाला, प्रेसर लगायत अन्य सामान्य चेकजाँच आफै गर्छन् । मानसिक रोगका लागि भने कोहलपुर मेडिकल कलेजमा कार्यरत डा. मोहन बेलबासे द्वारा मासिक १ पटक चेकजाँच हुन्छ । निलसागरको आग्रहमा डा. बेलबासेले पारिश्रमिक भने लिँदैनन् । उनले भने बमोजिमको अौषधी दिनुपर्ने भए निलसागर आफैले खर्च गर्छ । त्यहाँ हेरचाह गर्ने र खाना पकाउने ३ जना छन् । उनिहरु सबैले मानबिय सेवाका लागि पारिश्रमिक लिँदैनन् ।