अस्ती जातिय बिभेदको कुरा लेखेँ, हिजो प्रेम, आकर्षण र यौनका बारेमा अलिअलि लेख्या थें । मेरा केहि साथीहरु ( जो मलाई राम्ररी चिन्नुहुन्छ तर वास्तवमा जान्नु हुन्न ) ले मैले उतिबेला उठाएको कदम ( बिहे गरेको नि! ) पनि च्यालेन्जीँग थ्यो । आफ्नै बारेमा लेख्नुस न, अन्तर्जातीय बिहेको बारेमा भन्नु भएको छ ।
मैले हाम्रो बिहेलाई अन्तर्जातीय नै मान्दिन त के लेख्नु यसको बारेमा भने । उहाँ कन्फ्युज हुनु भो । म जसले जात भातको अस्तित्व नै स्विकार्दिन त अन्तर्जातीय र सजातियको कुरै आउँदैन । धेरैले यहि सोँच्छन सायद मैले बिद्रोह गरेकी थिएँ, जातिय बिद्रोह । त्यो गलत हो । त्यसैले आज केहि लेख्नै पर्ने भयो।
एकखाले बिद्रोह हो सायद , तर जातिय होइन । पुरुषप्रधान समाजको सोँचमाथीको प्रहार हो ।
हाम्रो समाजमा बिधमान बिहे प्रथा बिरोधी बिद्रोह हो । हाम्रो समाजमा छोरी मान्छे जत्ति नै सबल र सक्षम किन नहोस उसमाथी बिश्वास गरिँदैन; बरु उल्टै प्रश्न उठाईन्छ उ माथी र राखिन्छ शंकाको घेरामा ।त्यसैले त उ भन्दा बढी पढेको, जागीरे, उमेरमा पाको इत्यादि हेरिन्छ / खोजिन्छ । छोरीलाई हेला नगरुन भनेर दाईजो दिएर फकाईन्छ । मानौ एककिसिमले उ बेचिन्छे धन दौलतमा । यो सबै भनेको छोरीलाई कमजोर बनाईनु,उसको अब्बलतामाथी शँका गरिनु हो जस्तो लाग्छ मलाई । उसलाई बलियो खाँबो नै चाहिन्छ भन्ने सोच छ ।
मानौं हामी सिमी जस्ता लहरे बाली हौँ उभिनलाई झिक्रो चाहिन्छ ! हो मैले त्यो भने तोडेकी भनें हुँ सायद । म आफै रुख हुँ, लहरा होइन । झिक्रो चाहिन्न बरु सके बन्छु भन्ने सोँच थ्यो मेरो , अहिले नि त्यहि छ ।
हो । हाम्रो सम्बन्ध स्विकार्य थिएन हाम्रो परिवारलाई, यसमा ”जात नमिल्ने भन्ने ” देखिने र भन्न सजिलो हुने कुरा मात्र हो । मुल कुरा अरु नै हुन ।
मलाई बच्चैदेखी चिन्नुहुन्छ भने अन्दाज आफै गर्न सक्नुहुन्छ, हाम्रो समाजमा म र मजस्ता सन्तानबाट बा – आमाको कस्तो अपेक्षा हुन्छ होला भनेर, सबैका परिवारको हुन्छ । उहाँहरुको पनि थ्यो । मबाट ठुलो अपेक्षा थियो । उहाँहरुले सपना बुन्नु भएको थियो, जुन सामान्य हो ।
मेरा थुप्रै साथी थिए र छन । केटीहरुभन्दा केटाहरुसँग मेरा कुरा मिल्थे आज आएर पनि मिल्छन । घरमा आउन अफ्टेरो मान्नु पर्दैनथ्यो । ग्रुप स्ट्डी, छलफल हुन्थे हाम्रो घरमा । दिनेश जी पनि मेरो साथी हुनुभयो । उहाँले एकदिन आफुलाई म मन पर्ने बताउनु भो । एक्स्ट्रा केयर पाएँ मैले । मलाई खासमा उहाँसँग कम्फोर्टेबल फिल भयो । हामी साथी भन्दा अलि फरक भयौं ।
ब्यक्तिगत रुपमा भन्ने हो भने म लभ सभमा बिस्वास नगर्ने र आफ्नो पढाई / क्यारियर नबनेसम्म बिहे सिहेको चक्करमा पनि पर्न नचाहाने केटि थिएँ ।
र भन्नै पर्ने कुरा, मैले सामाजिक बिद्रोह गर्ने उद्देश्य राखेर बिहे गरेकी होइन । यो मेरो प्राकृतिक स्वभाव हो र मैले बिना हिचकिचाहट र भयरहित भएर इच्छ्याएको जिवन रोजेकी मात्र त हुँ, कुनै ठुलो तिर मारेकी होइन । म बिद्रोही होइन, सत्य जिउन चाहने केटी हुँ ।
तर भयो के भने, दिनेशजी र म मात्र साथी नभएर अरु पनि भएको शँका घरमा भएपछी महाभारतको शुरुवात भएको हो । वास्तवमा बुवा आमाका सपना र आकाँक्षा चकनाचूर भएर फुटेका थिए, तिनै फुटेका सपनाका टुक्राले घायल बनाएका थिए उहाँहरुलाई । मलाई त्यो असह्य भयो । म सबै छोडेर काठमाडौं जाने भएँ । आमा बुवा अलि ढुक्क हुनु भयो सायद, दिनेशजीलाई छटपटी ।
उहाँलाई म माथी भर थिएन सायद । इन्सेक्युअर भएको हुन पर्छ कि म अरुसँगै बिहेका लागी राजी हुन सक्छु भनेर । त्यो सम्भव पनि थियो । सानो ठाँउ तम्घास सबै कुरा थाहा पाउन कुनै मुस्किल थिएन, कस्को बिहेको कुरा कोसँग चलेको छ भनेर ।
उहाँ सायद २ महिनाभित्रैमा काठमाडौं आउनुभयो र सिँदुर पोते लाईदिएर आफ्नी बनाउनु भो, सामाजिक रुपमा । मत्लब अब कसैले पनि बिहे गर्न नमिल्ने भएँ म, अनि उहाँ ढुक्कले फर्किनु भो । मेरो मौनतालाई उहाँ स्विकृति मान्नुहुन्छ, सधै । अझै पनि । त्यो उहाँको सोंच हो ।
मैले मलाई करिब दुई बर्ष सेल्फ आइसोलेट गरेँ सबैसँग । हामी कोही पनि वास्तवमा खुशी थिएनौँ । म ढुंगाको मुर्ती बनेकी थिएँ ( मेरा नजिकमा केहीलाई मात्र थाहा छ ), मै यस्तो भएसि अरु कसरी खुशी हुनु । हामी हाँसेर खुशी छौं भन्ने भ्रम छरेका थियौं ।
म बिवाहित हुं भन्ने कुरा टि . यु पढ्दा कमैलाई मात्र थाहा थियो । मलाई मन लाग्दैनथ्यो बिबाहित भनिन /चिनिन । यसमा दिनेशजी मेरो साथ दिनुहुन्थ्यो ।
र हाम्रो बैवाहिक जिवन अहिले चकाचक चलेको छ ।
म को सँग खुशी हुन सक्छु होला भन्ने कुराको हिसाब किताब मिलाएर बिहे गर्नेहरु जिवनभर रोएको पनि मैले देखेकी छु । मेरो चाँही कुरो के छ भने म जहाँ जान्छु खुशी लिएर जान्छु आफैसँग ।
धेरै पछी मात्र मलाई अनुभुती भयो की प्रेम र विवाह एउटै होइनन । बिबाह सामाजिक बन्धन हो, समाजलाई अनुशासित राख्न दिईएको लाईसन्स हो जुन आवस्यक छ । प्रेम त हावा, पानी, घाम, आगो … जस्तै मात्र हो । प्रेममा बिहेको आवस्यकता नै हुन्न । शारीरिक / भौतिक उपस्थिति पनि चाहिन्न।
© माया पन्थी
अस्ट्रेलिया