ओमप्रकाश गुप्ता, सिसहनियाँ। दाङको राप्ती गाउँपालिका ९ देवीकोटस्थीत धार्मिक तथा पर्यटकीय क्षेत्र भद्राक्षीदेवी मन्दिर परिसरमा पर्यटक लोभ्याउने भौतिक संरचना निमार्ण भएका छन् । भने कतिपय निमार्ण प्रक्रियामा रहेका छन् ।
लमही भालुवाङ सडक खण्डको मौरीघाट देखि उत्तर ८ किलोमिटरको दुरीमा देबीकोट पुगिन्छ । देवीकोट सत्यदेवीको वायाँ घुडो पतन भएको स्थानले परिचित छ । भद्राक्षी देवी मन्दिरमा पूजा आरधना र प्राकृतीक रमणीय दृष्यावलोकन गर्न आजभोली धेरै मानिसहरु पुग्ने गर्दछन् । देवीकोटमा बोलेरो जस्ता साना सवारी साधन र मोटरसाईकल,ट्याक्टर चल्न थालेका छन् । देवीकोटमा सौर्य खानेपानी आयोजना सञ्चालन गरिएको छ । प्राथमिक विद्यालय धापखोला सहित घोडेवास, छाउनी टोल, भद्रासी देवी मन्दिर, माझटोल, लेवासे गाउँमा खानेपानीको सुबिधा भएको छ । विद्युतको पोल र तार देवीकोट सम्म तानिसकेको छ । तर भित्री गाउँ सम्म विद्युत पु¥याउन भने बाँकी छ । अहिले सो स्थानमा राप्ती गाउँपालिका ८ बिजौरी निवासी स्व. मातापिताको संझानामा गिरबहादुर ज्ञवालीले शिव मन्दिर निमार्ण गरिदिएका छन् , त्यस्तै राप्ती गाउँपालिका ४ मौरीघाट निवासी स्व.प्रेमबहादुर जिसी र खिमादेवी जिसीको संझनामा छोराहरु कृष्णबहादुर जिसी,चन्द्रबहादुर जिसी र डम्बरबहादुर जिसीले ७ लाख २५ हजारको लगानीमा प्रेम धर्मशाला निमार्ण गरेका छन् । भने जिल्ला समन्वय समिति दाङको करिव २ लाखको लागतमा एउटा सार्वजनिक शौचालय निमार्ण भएको छ । ३ विगाह ६ कठ्ठा क्षेत्रफलमा तारबार गरिएको छ । त्यस्तै विवाह मण्डप, गणेश मन्दिर,हनुमान मन्दिर निमार्णाधिन अवस्थामा रहेको छ । देवीकोट दाङ जिल्लाको चुरे श्रृखलाको ऐतिहासिक स्थल हो । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेबास भन्ने गाउँ छ यस घोरेबासमा भुरेटाकुरे राजाहरुको समयमा अड्डा अदालत, र गोश्वारा कार्यालय समेत रहेको भनाई छ । मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ । जुन समयमा सेनाको छाउनी रहेकाले अहिले बोल्ने क्रममा छाउनीबाट छाउनटोला नामकरण भएको हो भन्ने तर्क पनि गरिन्छ । यी कुराहरुको ऐतिहासिक तथ्य केहि नभएपनि केहि भवनका भग्नावशेषहरु भने अध्ययनको लागी देख्न सकिन्छ । देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमश्रृंखला, महाभारत श्रृखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सिमा क्षेत्रको भू–भाग समेत हेर्न सकिन्छ । यस ठाउँको प्रचार प्रसार हुन नसक्दा पर्यटन वर्ष २०२० समेत खल्लो हुने देखिन्छ ।
राप्ती गाउपालिका भित्र ऐतिहासिक, धार्मीक र साँस्कृतीक धरोहरहरु धेरै छन् । कतिपय प्राकृतीक सम्पदाको अध्ययन गर्न नै बाँकी रहेको छ । राप्ती गाउँपालिका भित्रका ग्रामीण पर्यटन स्थलमा ल्याउन आवश्यक भौतिक पुर्वाधार तयार हुन जरुरी छ । पर्यटकिय स्थलमा पुग्नको लागि सडक,खानेपानी,स्वास्थ्य र सुरक्षाको उचित प्रवन्ध हुनु पर्दछ । ग्रामीण पर्यटकहरुलाई खाने वस्ने सुविधा जनक होटल अथवा अहिले प्रचलनमा आएको होमस्टे पनि जरुरी रहेको स्थानीयहरुको भनाई छ ।