राम बहादुर बिश्वकर्मा,प्युठान। घडीले बिहानको ८ बजाईसक्यो। सर्मिला स्वाँस्वास गर्दै उकालो चढ्दै छिन् । चिउडोबाट तप्प–तप्प पसिना चुहिएको छ । दुई चार पाइला सार्छिन, उभिएर खुइइ गर्छिन्, फेरी अघि बढ्दै भन्दै थिइन् ‘आज पनि स्कुल जान ढिला हुने भयो ।’ बिहान साझ पिठ्यूमा जर्किन र बाल्टिन बोकेर यसै गरि पानी ओसार्नु सर्मिलाको दैनिकी नै हो ।उनको मात्रै होइन मल्लरानी गाउँपालिका स्थित बडडाँडाका बालबालिकाहरु भालेको डाँकोसँगै झिसमिसे बिहानमै ब्यूँझन्छन र रित्तो गाग्री र डोको बोकेर कुवातिर लाग्छन् । उनी पछि आएका साथीहरु पालो कुरेर बसिरहेका हुन्छ्न । विहान ५ बजे उठेर पानी भर्न गएका उनिहरु ९ बजेतिर मात्रै घर आईपुग्छन । फर्कदा गाग्रीभरी पानी, उकालो बाटो कम्ता सास्ती छैन उनिहरुलाई। बिहानभरीको समय पानी ओसार्दैमा बित्छ । ‘विहान त सधै पानी बोकेर बित्छ ।’ सर्मिला भन्छिन् ‘ घरमा पढ्न पाईदैन,पानी ओसार्नु पर्यो नि ।’ कुवामा सबैभन्दा अघि नपुगे पालो कुर्नुपर्छ। ‘पालो कुरेरै बिहान बित्छ अनि त स्कुल जान पाईदैन’ सर्मिलाले भनिन।

महेन्द्र उच्च मा बि खलंगा कक्षा ९ मा पढ्दै गरेकी सर्मिला नेपालीले घण्टौँ लगाएर पानी लिन जानुपर्ने हुदाँ कुर्दाकुर्दै ढिला हुने र विद्यालय छुट्ने गरेको सुनाईन।सर्मिला जस्तै बडडाँडाका अघिकांश दलित बालबालिकाहरुको दैनिकी पानी लिन जादा नै बित्ने गर्छन् । उनीहरुलाई विद्यालय कतिखेर जाने भन्ने होइन कि आज कुवामा पानी पाइन्छ कि पाईदैन भन्ने कुराको पिरलो हुन्छ । गाउँ नजिक भरपर्दो मुहान छैन । बस्तीबाट एक, डेढ घण्टा हिडेर पानी लिन जानुपर्छ । दिनभरीमा एक ग्रागी पानीले टार्नुपर्छ मल्लरानी ४ बडडाडा कि फुर्सी नेपाली भन्छिन– ‘तिर्खा मेट्ने गरी पानी समेत खान पाउँदैनौँ ।’ हामीलाई त पानीको थोपा थोपाको महत्व छ ।’ फुर्सीले भनिन ‘गाउँमा कोही नयाँ पाहुना आएमा दिने पानीं समेत हुँदैन, हिउँदमा सधै यहा पानीको सास्ती हुन्छ, बर्षात नहुदै केही काम छैन।”
पानी खाने गरेको पँधेरोे र खोल्सा खोल्सीको पानी समेत सुकेपछि गाउँमा पानीको हाहाकार मच्चिएको छ ।गाउँको पँधेरामा पानी आउन छाडेपछि समुदायले तरकारी खेती गर्न, गाई वस्तुलाई पानी खुवाउन त परै जाओस् राम्रोसंग कपडा धुन समेत पाएका छैनन् । छोराछोरीलाई पकाएर खुवाएर स्कुल पठाउनु भ्याइदैन । गाउँलेहरू भन्छन् ‘ हाम्रा लागि त पानी साह्रै महंगो बनेको छ ।’ गाउँमा पानीका मुहानहरु बस्तीभन्दा धेरै टाढा छन् ।

पानीका लागि राती देखिनै लाइन बसेर कुर्नुपर्ने हुन्छ । त्यसले गर्दा बालबालिका पढाई समेत प्रभावित बनेको स्थानीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्त साक्यले बताए । प्रत्येक बर्ष चैत्र देखि असार सम्म यस्तै समस्या हुन्छ. ७ हजार जनसंख्या रहेको यो क्षेत्रमा प्रतिदिन ९ लाख लिटर पानी आबश्यक हुन्छ । सार्बजनिक धारा सहित ३ सय ९५ धारा जडान गरिएका छन तर पानी छैन साक्यले भने -” रात्तिनै उठेर पानी लिन गएपछि बच्चाहरू स्कुल जान भ्याउँदैनन् । पानी लिन नगए घरमा पानी पिउन पाउँदैनन् । ‘व्यक्तिगत र घर आँगन सरसफाई गर्न सक्ने त कुरै छैन’ उनले भने यहाँका स्थानीयलाई दैनिक खानेपानीको पिरलो छ । झिमरुक खोलाबाट प्रती लिटरको एक रुपैयाँ खर्च गरि ट्यांकरले पानी बोक्छ, तर महिनाको ३ सय रुपैया शुल्क खानेपानीलाई तिर्दै आएको स्थानीय हिरा शाहीले बताए -“खानेपानीका कर्मचारीले समस्या बुझेन्न , प्रधानमन्त्री भन्दा ठुला छ्न” वडा र गाउँपालिकालाई यो समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ।