टेक बहादुर पुन,देउखुरी। लमही ९ अन्तर्गत सिमल सोता खोलाको वारीपारी २ गाउँ छन् । वारि बाँगेताल छ भने पारी स्याले गाउँ । बाँगेतालमा तट्बन्धको लागि ढुङ्गाजन्य बस्तु डम्पिङ्ग गर्ने काम भईरहेको छ । तर त्यही तट्बन्धको लागि अाबश्यक ढुङ्गा जन्य बस्तु स्याले गाउँको सिमानाबाट धमाधम उठाईँदैछ । यसले गर्दा स्याले गाउँ बाढीको जोखिममा देखिन्छ ।
एक गाउँ बचाउको लागि अर्को गाउँ खतरामा छ ।
स्याले गाउँको सिमानामा खोलाको सतह गहिरो छ भने बाँगेतालको उचाईमा छ । तर गहिरो भु-भाग बाटै ढुङ्गा उत्खनन् ले स्थानिय चिन्तित छन् । “उठाउनै परे अग्लो भागबाट उठाउनु पर्ने, एक स्थानियले भने यसले गर्दा खोलापनि गहिरो हुन्थ्यो अनि पानी बग्न सहज हुन्थ्यो ।” बाँगेतालको सिमानामा पनि प्रसस्तै ढुँगाजन्य बस्तु त छन् तर त्यहाँको ढुँगा छोईएको समेत छैन । स्याले गाउँकै सिमाना बाट ढुङ्गा उत्खनन् गर्नाले स्याले गाउँ बाढीको चपेटामा पर्ने निश्चित छ ।
वारिबाट पारि ढुङ्गा लिन जाँदा ढुवानी खर्च पनि बढ्ने देखिन्छ । ढुङ्गाकै कारण २ गाउँबिच बिबाद पनि भयो । बिबाद लाई लमही नगरपालिकाले साम्य पारेको बाँगेताल तट्बन्ध उपभोक्ता समितिका अध्यक्ष भोलाराम डाँगीले बताए । तर यस बिषयमा अाफुलाई केहीपनि जानकारी नभएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको भनाई छ । केसीले यस बिषयमा छानबिन गर्ने र सहज तरिकाले काम सम्पन्न गराउने बताए ।
त्यसो त २०७३ सालमा अाएको बाढीले बाँगेतालका ७ घरपरिवार बिस्थापित भएका थिए । यहि समस्यालाई मध्यनजर गरि राष्ट्रपति चुरे सँरक्षण तराई मधेश कार्यक्रमले तारजालि सहित तट्बन्धको लागि लमही ९ मा मात्रै १करोड ५० लाख बजेट बिनियोजन गरेको छ । लमही ९ अन्तर्गतका रिहार, जलकुण्डी, बाँगेतालको सिमलसोता र अमिलियाका सोताहरुमा तट्बन्ध हुनेछन् । बाँगेतालमा १सय मिटर तट्बन्धको लागि ३१ लाखको योजना छ । पैशाको अभाबमा सिताराम केसिले काम गरिरहेको बाँगेताल उपभोक्ता समितिले बताएको छ ।