सलिम अन्सारी,प्युठान ।
सरुमारानी गाउँपालिका १ झिलवाङका दुज बहादुर राउत बाह्रै महिना तरकारी फलाउँछन्। बारी भरी टमाटर,बन्दा,काउली,तोरीको साग,लसुन प्याज लटरम्म फलेका छन् । उनलाई बजारको तरकारी किन्नु पर्दैन, कहिलेकाहीं आफन्तलाई कोसेली दिएर पठाउन मात्रै होईन बजारमा लगेर बेच्न पनि पुग्छ । “बिहान उठ्नेवित्तिकै कतै फूल फुलेको, कतै फल लागिरहेको देख्दा मनै आनन्दित हुन्छ”, ४७ बर्षीया राउत भन्छन्, “यस्तो महँगीमा तरकारीमा हुने खर्च पनि जोगिएको छ ।” उत्पादित तरकारीले ४ जनाको परिवारलाई मनग्गे पुगेको उनी सुनाउँछन् । केही ग्राहक घरमै आएर तरकारी किन्छन, भने कहिलेकाहीँ बजार र गाउँमा पु्याएर पनि बिक्री गर्नुपर्छ। तरकारी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेको उनले सुनाए। तरकारी खेती आम्दानीको बलियो स्रोत बनेपछि अझै विस्तार गर्ने उनको सोच छ। तरकारी उत्पादनदेखि बिक्री गर्नेसम्मका काममा परिवारका सदस्यले सघाएका छन्। तरकारीमा रसायनिक मल र विषादी भने उनी प्रयोग गर्दैनन्। ’बाख्राको गोबर र पिसाब कुहाएर मल तयार गर्छौ,’ उनले भने, ’सबै फोहोर मलको रूपमा प्रयोग हुन्छ । ९ बर्ष देखि बारीमा तरकारी उत्पादन गर्दै आएका उनले बाख्रापालन समेत सुरु गरेका छन। उनले १६ वटा बाख्राबाट व्यवसाय सुरु गरेको बताए। ’आफ्नै व्यक्तिगत लगानीबाट तरकारी खेती गरिरहेको छु,’ राउतले भने ’अरु खेतीभन्दा तरकारी लगाउँदा दोब्बर फाइदा लिन सकिँदो रहेछ।’ उत्पादन भएको तरकारी गाउँमै बिक्री हुन्छ। ’कृषि नै मेरो आयस्रोत हो, त्यसकारण यही क्षेत्रमा नयाँ ढंगले काम गरौं भनेर लागेको हुँ।’
सरोकारवालाले किसानका समस्या समेट्न नसकेको उनको गुनासो छ। ’सबैभन्दा बढी दुःख, परिश्रम र मेहेनत कृषिमा छ, कृषि पेसालाई राज्यबाट प्रोत्साहन नहुँदा धमाधम कृषि छाडेर युवा विदेश जान बाध्य छन,’ दुःखपीडा देख्नेले पनि किसानको पक्षमा नियमरकानुन बनाउँदैनन,’ राउतले भने। राज्यले कृषि क्षेत्रका समस्या सम्वोधन गर्नुपर्ने उनले बताए।
नोकरी गर्दै भारतमा दुई दशक बिताएका राउतले विदेश गएका युवाहरुलाइ पनि घर फर्केर कृषीकर्ममा जुट्न सुझाव दिए।
तरकारी खेतीले फेरिएको मुहार
तरकारी खेतीले फेरिएको मुहार

Advertisement
तपाईको प्रतिक्रिया