कामना डेली, प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले अनेरास्ववियु क्रान्तिकारी प्युठानका जिल्ला सदस्य प्रेम बहादुर विश्वकर्मालाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन पत्र काटेको छ ।
कोरोनाको बहानामा विभिन्न ब्याक्तिहरुबाट आफुखुसी सहयोग रकम संकलन गरिरहेको पाईएपछी प्रशासनले बिश्वकर्माको नाममा पत्र काटेको हो ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सामाजिक संजालमा सहयोग संकलन गरेको प्रचार गर्ने प्रेम बहादुर विश्वकर्मालाई तीन दिनभित्र प्रशासनमा उपस्थित हुन पत्र काटिएको जानकारी गराए । ‘सहयोग संकलन कुन कानुनको आधारमा गरेको हो ? हालसम्म क–कसबाट कति सहयोग संकलन भयो ? सोको विवरण सहित कार्यालयमा आउन भनेका छौँ ।’ प्रजिअ भुसालले भने।
प्रजिअ भुसालले आफूखुसी सहयोग संकलन गर्ने कार्य गैह्रकानुनी भएको बताए। उनले कोभिडका नाममा रकम संकलन अभियान चलाउने जो सुकैलाई पनि कानुनी कारवाही हुने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय प्यूठानले गएको जेठ ७ गते एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न सुचना जारी गरेको छ ।
सूचनामा एकद्वार प्रणालीअन्तर्गत रही वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने उल्लेख छ ।
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई २०७८ जेठ ५ गते जिल्लामा कोभिडको बहानामा आफूखुसी सहयोग संकलन गर्नेहरुलाई निरुत्साहित गर्न जानकारी गराएको थियो ।
तर, प्रशासनको यस्तो निर्णयको बेवास्ता गर्दै जिल्ला स्तरीय क्रान्तिकारी कोभिड कोष’ नाम दिएर अनाधिकृत रुपमा सहयोग रकम संकलन गर्ने काम नरोकिएपछि नागरिकस्तरमा समेत त्यस्को बिरोध सुरु भएको थियो ।जिल्ला स्तरीय क्रान्तिकारी कोभिड कोष’ लाई सहयोग गरेको भन्दै क्रान्तिकारीका जिल्ला सदस्य विश्वकर्माले आफ्नो फेसबुकबाट सहयोग गर्नेहरुको नामावली सार्वजनिक गर्दै आएका थिए । सहयोग गर्नेहरुलाई उनले धन्याबाद समेत लेखेका छन। प्रशासनने आफुलाई पत्र काटेको बिषयमा कामना डेलीसंग प्रतिक्रिया दिदै बिश्वकर्माले केन्द्रीय सर्कुलर अनुसार संगठनको जिल्ला कमिटिको बैठक बसेर राहत कोष स्थापना गरिएको बताए। ” संगठनको निर्णय अनुसार रकम संकलन गरेको हुँ।’उनले प्रश्न गर्दै भने।’ ‘ संगठनलाई पठाउनुपर्ने पत्र मलाई किन आयो?’