सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज

काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुबै अध्यादेश अध्यादेश खारेज गरेकी हुन् ।शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रीपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।यसअघि मन्त्रिपरिषद्‌ले सिफारिस गरेका दुबै अध्यादेश वैशाख ८ गते सोमबार साँझ साढे ६ बजे राष्ट्रपतिले जारी गरेकी थिइन् । कोरोना संक्रमणको संकटसँग मुलुक लडिरहेको बेला दुबै अध्यादेशको औचित्य नभएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त अध्यादेश शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकबाट फिर्ता लिने निर्णय गरेको थियो ।

Sharing Now!

You might also like

Comments are closed.