पूण्य भूमि रेसुङ्गा

कामना डेस्क, गुल्मी। खै कहाँबाट सुरु गरु ? रेसुङ्गाका लोभलाग्दा सुन्दर दृश्य दिमागमा नाचिरहेका छन्, लेख्ने कलम चलिरहेको छैन । मैले लेख्ने शब्दमा अट्दैन, मैले गर्ने बयानले पुग्दैन । गुल्मी जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र हरेक सौन्दर्यले भरिपूर्ण छ । जिल्ला सदरमुकाम तम्घासलाई काखैमा राखेर आफू शिरमा बसेको रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । गुल्मी आउने नवआगन्तुले घुम्ने, अवलोकन गर्ने गौरवशाली पुण्यभूमि रेसुङ्गा । धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वले भरिपूर्ण रेसुङ्गाको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने एउटा किताब बन्छ । मैले रेसुङ्गामा पुग्नैपर्ने कारणहरुको समग्र पक्षलाई संक्षेपमा यहाँ उल्लेख गरेकी छु ।

रेसुङ्गाको महत्व कति भन्ने लेखेका शब्दले मात्रै होइन त्यहाँ पुग्नेहरुले गर्ने बयानले पनि सार्थक पार्दछ । सँधै बादलको घुम्टो ओढेर चारैतिरबाट आउनेहरुलाई स्वागत गर्न बसेको रेसुङ्गामा पुग्नेहरु गर्वले भन्छन् साच्चिकै बिचित्र छ रेसुङ्गा । हामीलाई चिनाएको छ, रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । मैले लेख्ने शब्दमा नअटाउने मैले गर्ने बयानले नपुग्ने स्वर्गको एक टुक्रा रेसुङ्गा गुल्मीको गौरव हो । रेसुङ्गा धर्मिक, ऐतिहासिक, पर्यटकीय हिसाबले महत्वपूर्ण छ । प्राचीन युगमा धेरै ऋषिमहर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता रहिआएको छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि रेसुङ्गा पुग्न सकिन्छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तपोभूमि मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । केही वर्ष यता रेसुङ्गामा सवारीका साधन जान थालेका छन् तर, गाडीको यात्रामा पुरै रेसुङ्गासम्म पुग्न सकिदैन ।

रेसुङ्गा क्षेत्रको पर्यटकीय सौन्दर्यलाई जोगाउन पोखरीसम्म सवारी साधनमा पुग्न सकिन्छ भने करिब २० मिनेटको उकालो पैदल यात्रापछि मुख्य गन्तव्यस्थलमा पुगिन्छ । माथि चुचरो पुगेपछि जो कोही स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरु र वरिपरिको मनोरम दृष्य हेर्दै रमाउँछन् । त्यहाँ रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, स्याङजा, अर्घाखाँची र बाग्लुङ जिल्लाको विभिन्न ऐतिहासिक दृश्य अवलोकन गर्न सकिन्छ । धौलागिरी, निलगिरी, माछापुच्छ्रे जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्न ऐतिहासिक तपोभूमि रेसुङ्गामा बेला बेलामा लाग्ने मेलाले अर्को यसको गरिमा बढाउँछ । सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजाआजा हुने गर्दछ । साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ । नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको छ । रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि, तपोभूमि महर्षीभूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहिआएको छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर, पुण्यभूमि बनेको छ । रेसुङ्गामा धेरै महर्षीहरुको तपस्या पछि २०४१ सालमा योगी नरहरिनाथको आगमनसँगै धेरै महत्व बाहिर आएको बताइन्छ । नरहरिनाथले १ महिनासम्म होम गरेर यसको गरिमालाई माथि ल्याउन विशेष भूमिका रहेको उल्लेख छ । उनले यस क्षेत्रको लागि ३६ हजार पैसा र २१ वटा गाई छोडेर गएसँगै गौशाला र रेसुङ्गामा विशेष रुपमा निरन्तर पूजा हुँदै आएको बताइन्छ । हाल निरन्तर पूजा हुँदै आएको छ । रेसुङ्गाको साँच्चिकै महत्व मात्रै उल्लेख गर्ने हो भने धेरै लामो इतिहास बन्छ । रेसुङ्गामा विभिन्न मनमोहक मन्दिरहरु रहिआएका छन् । रेसुङ्गामा राणाकालमा धेरै राजाहरुले पनि राज्यको निम्ति विभिन्न कामहरु गर्न लगाएको जस्ता भनाईहरु सुन्नमा आउँछन् । रेसुङ्गा साँच्चिकै आन्नदित छ यहाँ फूलले होइन ढुंगा माटोले पनि बासना छरेको छ । यहाँ विभिन्न बोटहरुले यसक्षेत्रको बुट्टा भरेको छ त्यसैले त यहाँ पुग्ने भन्छन् यो हामीले नदेखेको स्वर्ग हो जुन यस्तै आनन्दित हुनेछ ।

३१ सय हेक्टरमा फैलिएको रेसुङ्गा वन क्षेत्रमा ठूलो जंगल छ, जसले यस क्षेत्रको प्राकृतिक सौन्र्दयता बोकेको छ । १ सय बढि खानेपानीका मुहानहरु रहेको रेसुङ्गामा धेरै प्रजातिका चराहरु, उत्तिकै प्रजातिका अरू वन्यजन्तुहरु, बहुमूल्य जातका जडिवुटिले भरिएको रेसुङ्गा हेर्दा घुम्दा मनै आनन्दित बन्छ । तनावले भरिएर पुग्ने जो कोही रेसुङ्गाको सुन्दरताले मनै लोभिएर फर्किने गर्दछन् । हाल नगर र गाउँपालिकाहरुमा स्वच्छ पिउने पानी पुर्‍याएको रेसुङ्गाको गरिमा, महत्व हिजो पनि उत्तिकै थियो र आज पनि उत्तिकै छ । रेसुङ्गाको महत्वलाई अझ बढाउन यस क्षेत्रको बाटोसँगै विकास निर्माणको पक्षलाई विशेष ध्यान दिनुपर्ने छ । रेसुङ्गा नामले मात्रै होइन प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ । रेसुङ्गा नामले धेरै संघ संस्थाहरु जोडिएका छन् । त्यसले रेसुङ्गाको नाम र यसको महत्व कति रहेछ भन्ने दर्शाएको छ ।

रेसुङ्गासँगै रहेको गौशालामा योगी नरहरिनाथले हवन गरेर छोडेका गाईलाई व्यवस्थित रुपमा पाल्नको लागि २०४२ साल देखि गाईहरु पाल्न थालिएको हो । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घासवासी र छिमेकी गाउँपालिकाबाट मानिसहरुले ती गाईको रेखदेख गर्ने गरेका छन् । बेला बखतमा विभिन्न पर्व/तिथि पारेर ती गाईगोरुलाई घाँस तथा नुन तेलहरु पनि यस क्षेत्रका स्थानीयले उठाउने गरेका छन् ।
हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । गाईको पिसाबलाई शुद्ध गहुँत मानेर पुजाआजामा प्रयोग गरिने हुनाले पनि गाईको महत्व धेरै रहेको छ । रेसुङ्गामा स्थानीयले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाई दान गरेर छोड्ने प्रचलन पनि छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । यसले पनि रेसुङ्गा क्षेत्रको गरिमालाई उँचो बनाएको छ ।

गौशालामा पालिएका स्थानीय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिएका छन् । रेसुङ्गा आफैमा पुण्यभूमि भएपनि यसलाई थप महत्व बुझाउनको निम्ति यस क्षेत्रमा केही विकासका कामहरु पुरा गर्नु पर्ने हुन्छ । जिल्ला बाहिर पनि रेसुङ्गाको व्यापक प्रचारप्रसारको आवश्यकता छ । यसो गरेमा बाह्य पर्यटनको आगमन भई गुल्मेलीको शिर अझ उँचो हुनेछ।

Sharing Now!

You might also like

Comments are closed.